२०७४ कार्तिक २ गते

वित्तीय साक्षरता भएका मुलुकहरु सबैभन्दा उत्कृष्ठ

बैंकिङ खबर / वित्तीय साक्षरता भएका मुलुकहरु सबैभन्दा समृद्ध हुने गरेको छ । विश्वव्यापी रुपमा हेर्दा, वित्तीय साक्षरताको अवस्था १३ देखि ७१ प्रतिशतसम्म रहेको छ । सबैभन्दा कम जनसंख्या वित्तीय रुपमा साक्षर रहेको मुलुक यमन हो । यहाँका १३ प्रतिशत जनता मात्रै वित्तीय रुपमा साक्षर रहेको एक अध्ययनले देखाएको छ । वित्तीय साक्षरताको कमीका कारण यो मुलुक आर्थिक रुपले माथि उठ्न सकेको छैन । 

वित्तीय साक्षरतामा उत्तर युरोप अगाडी रहेको छ । उत्तर युरोपका ५२ प्रतिशत युवाहरु वित्तीय रुपमा साक्षर छन् । जसमध्येमा पनि डेनमार्क, स्वीडेन, जर्मनी, नर्वे र नेदरल्यान्ड्समा वित्तीय साक्षरता दर उच्च रहेको छ । यी मुलुकको वित्तीय साक्षरता दर ६५ देखि ७५ प्रतिशतसम्म रहेको छ । यसबाहेक, अष्ट्रेलिया, क्यानडा, फिनल्याण्ड, यूके लगायतका मुलुकका पनि ६५ प्रतिशतभन्दा बढी युवा वित्तीय रुपमा साक्षर छन् । संसारकै शक्तिशाली मुलुक अमेरिकाको ५७ प्रतिशत जनता वित्तीय रुपमा साक्षर रहेका छन् । 

वित्तीय साक्षरतामा उत्कृष्ट मुलुकहरुको अर्थतन्त्र
अध्ययनका अनुसार, सबैभन्दा धेरै वित्तीय साक्षरता भएका मुलुकहरु स्वीेडेन र डेनमार्क हुन् । यी मुलुकका ७१ प्रतिशत जनता वित्तीय रुपमा साक्षर रहेको पाइएको छ । यी मुलुकहरु विश्वका समृद्ध मुलुकहरुमध्येमा पर्छन् । 

सन् १९७३ देखि युरोपेली संघको सदस्य रहेको डेनमार्कको अर्थतन्त्र वैदेशिक व्यापार र निजी कम्पनीहरुमा अडेको छ । ५.६ मिलियन जनसंख्या रहेको डेनमार्कको कुल गार्हस्थ्य उत्पादन २५८.७ विलियन अमेरिकी डलर रहेको छ भने प्रतिव्यक्ति आय ४५ हजार चार सय नौ अमेरिकी डलर रहेको छ । यहाँको पछिल्लो आर्थिक वृद्धिदर १.२ प्रतिशत रहेको छ । यहाँको कुल जनसंख्याको ६.३ प्रतिशत जनसंख्या बेरोजगार रहेको तथ्यांक छ । 

त्यस्तै, १० मिलियन जनसंख्या रहेको स्वीडेनको कुल गार्हस्थ्य उत्पादन ५११ विलियन अमेरिकी डलर रहेको छ । पछिल्लो समय यहाँको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको छ भने बेरोजगारी दर ६.८ प्रतिशत रहेको तथ्यांक छ । स्वीेडनको प्रतिव्यक्ति आय ५१ हजार एक सय ३५ अमेरिकी डलर रहेको छ । यहाँको अर्थतन्त्रको मूख्य आधार व्यापार हो ।