नवराज कुँवर । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि साना किसान बिकास बैंकले ४ सय युवालाई आधुनिक कृषि तालिमका लागि इजरायल पठाउने भएको छ । त्यसका लागि यही मंगलबारबाट छनौट चरण सुरु गरिने बैंकले जनाएको छ । तीन वर्षअघि नेपालका लागि इजरायली दूतावास, साना किसान विकास बैंक र साना किसान कृषि सहकारीको समन्वय तथा अर्थ र परराष्ट्र मन्त्रालयको सहमतिमा नेपालका साना किसान परिवारका युवाहरुलाई इजरायल पठाउन सुरु गरिएको थियो ।
बैंकले यसअघिको भन्दा यो पटक कम प्रशिक्षार्थीलाई इजरायल पठाउने भएको छ । यसअघि ४ सय २५ जना युवालाई इजरायल पठाइएको भएपनि यसपालि भने चार सयमात्र युवालाई इजरायल लैजाने तयारी गरिएको छ । पहिलो चरणमा २ सय ४, दोस्रो चरणमा ५ सय २५ र तेस्रो चरणमा ११ सयभन्दा बढी युवाले उक्त अवसर प्राप्त गरिसकेको बैंकले जनाएको छ । इजरायल सरकारको सहयोगमा तीन वर्षअघि सुरु भएको ’लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत चौथो चरणमा मंगलबारबाट छनोट प्रक्रिया सुरु हुन लागेको हो । मुलुकलाई कृषि प्रधान मुलुक भनिएपनि कृषिमा औद्योगिकरण र व्यवसायिकता विकास नभएको भन्दै इजरायली कृषि प्रविधि सिकाउन उक्त कार्यक्रम सुरु गरिएको हो ।
संसारमै इजरायली कृषि प्रविधिलाई उत्कृष्ट मानिन्छ । इजरायलले चार प्रतिशत जनसंख्याले कृषिलाई पेसा बनाएर बाँकी रहेको जनसंख्याको लागि आवश्यक पर्ने खाद्यान्नको जोहो गर्नुको साथै कतिपय उत्पादन बाहिरी देशमा निर्यात गर्ने गरिरहेको छ ।
यो पटक ४० जिल्लाका साना किसान परिवारका युवाहरुलाई इजरायल लैजान मंगलबार हेटौँडास्थित एक होटलमा छनौट कार्यक्रम निर्धारण गरिएको साना किसान विकास बैंकले जनाएको छ ।
कस्ता मापदण्ड पूरा गरेकाले तालीममा सहभागीता जनाउन पाउँछन् ?
१. परिवारको कुनै सदस्य वा अविभावक स्थानीय साना किसान सहकारी संस्थाको सदस्य हुनुपर्नेछ ।
२. शैक्षिक योग्यता कम्तिमा ं१२ कक्षा पास गरेको हुनुपर्नेछ ।
३. २०–३१वर्ष ननाघेको हुनुपर्नेछ ।
४.कृषि पेसामा लागेको, कृषि बाहेक कम बिकल्प भएको ।
उल्लेखित मापदण्ड पूरा गरेका विद्यार्थीले स्थानीय साना किसान कृषि सहकारी संस्थाको माध्यमबाट इजरायल जान पाउनेछन् ।
कार्यक्रमलाई अघि बढाउन विशेष भूमिका निर्वाह गरिरहेका साना किसान विकास बैंकका कार्यालय सचिव झलेन्द्र भट्टराईका अनुसार अहिलेसम्म इजरायलमा कृषि सीप आर्जन गरेकामध्ये सात सय युवा स्वदेशमा फर्केर अधिकांशले कृषिलाई पेसा बनाएका छन् । अघिल्लो वर्ष पठाइएको झण्डै चाढे चार सय युवा अझै इजरायलमै कृषि शिक्षा आर्जन गरिरहेका छन् । केही महिनामा ती युवा पनि स्वदेश फर्कने भट्टराईले बताए । केही महिनापछि फेरि चार सय विद्यार्थी इजरायल लाने गरी मंगलबारबाट प्रशिक्षार्थी छनौट गर्नका लागि इजरायलका विभिन्न कलेजका प्रतिनिधिहरु नेपाल आईसकेका छन् । इजरायलबाट विद्यार्थी छनौटका लागि नेपाल आएका किन्नरेट एकेडेमी कलेजका कार्यक्रम निर्देशक ओरन डेभिडका अनुसार सिकाइ र कमाइ कार्यक्रम १० महिनाको हो । उक्त अवधिमा एक व्यक्तिले पाँचदेखि आठ लाख रुपैयाँसम्म कमाउने उनले जानकारी दिए । नेपालमा छनोट भई इजरायल गएका युवाले १० महिनासम्म त्यहाँका पाँचवटा कलेजमा सैद्धान्तिक ज्ञान हासिल गर्छन् भने कलेजको सैद्धान्तिक ज्ञानलाई कृषिफार्ममा प्रयोग गर्छन् ।
युवाहरू जुन फार्ममा काम गर्छन्, सोही फार्मले काम गरेबापतको पारिश्रमिक उपलब्ध गराउने व्यवस्था मिलाइएको किन्नरेट कलेजका डाइरेक्टर डेभिडले जानकारी दिए । उक्त कार्यक्रममा छनोट हुनका लागि मुख्य रूपमा तीनवटा आधार तोकिएको छ । जाने युवाको उमेर २०–३० वर्ष, प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण तथा साना किसान कृषि सहकारी संस्थाको सदस्य भएका इजरायलको सिकाइ र कमाइ कार्यक्रम छनोटका आधार हुन् । उक्त कार्यक्रममा अहिलेसम्म ३४ जिल्लाका युवायुवती छनोटमा परे पनि यसपटकदेखि ४० जिल्लासम्म पु¥याइएको साना किसान बिकास बैंकले जनाएको छ । मंगलबारबाट चौथो चरणको कार्यक्रममा छानिएकाहरू आगामी अगस्टमा इजरायल जान पाउनेछन् । नेपालमा यतिखेर करिब ६५ प्रतिशत जनसंख्याले कृषिलाई पेसा बनाए पनि यसले कुल गार्हस्थ उत्पादनमा ३२ प्रतिशत मात्र योगदान गरेको छ । ठूलो जनसंख्याले कृषिलाई पेशा बनाउँदा समेत राम्रो उत्पादन हुन नसक्नुको कारण पछौटे र परम्परागत खेती प्रणाली रहेको कृषि विज्ञहरूले बताउँदै आएका छन् । नेपालका लागि कृषि सम्भावनायुक्त क्षेत्र भएपनि अहिलेसम्म अपेक्षाकृत लाभ लिन सकेको छैन ।
साना किसान बिकास बैंकको विशेष सक्रियातामा संचालन गरिएको यस कार्यक्रममा सहभागी भएर इजरायलको बेइतओसेफमा काम गरिरहेका पर्साका युवा सन्तोष खड्काले कृषिका लागि इजरायलभन्दा नेपाल सबै तबरबाट अनुकुल भएपनि आधुनिक सीप र प्रविधिकै कमीले पछि परिएको रहेछ भन्ने कुरा इजरायल आएपछि थाहा पाएको बताए । उनी अहिले इजरायलको सि अफ ग्यालीलीस्थित किन्नरेट कलेजमा कृषि शिक्षा आर्जन गरिरहेका छन् भने इजरायलको कृषि गाउँ यारदेनामा रहेको सिमसोन बाराजानी फार्ममा काम पनि गर्छन् । इजरायलस्थित कलेजले यहाँबाट इजरायल जाने प्रशिक्षार्थीका लागि हप्तामा एक दिन कलेजमा अध्ययन र बाँकी पाँच दिन कलेजमा सिकेका ज्ञानको व्यवहारिक प्रयोगका लागि फार्ममा काम गर्ने अवसर मिलाईदिने गरेको छ ।




