May 2nd, 2016

सोमबारको नेप्से : ७६ करोडको कारोबार, साँढे ९ अंकले बढ्यो परिसूचक

economicसोमबार नेपाल स्टक एक्सचेन्जमा ७६ करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय २५ वटा कम्पनिको ८ लाख ५१ हजार ७ सय ८६ कित्ता शेयर ३ हजार २ सय ९१ पटक खरिदविक्रि हुँदा कुल ७६ करोड २५ लाख २० हजार ५ सय १९ रुपैँयाको कारोबार भएको हो । नेप्से परिसूचक ९.५६ अंकले बढेर १४७४.७४ अंकमा पुगी सोमबारको कारोबार बन्द भएको छ । 

सोमबार संस्थापक र साधारण शेयर गरेर नविल बैँकको साँढे ८ करोडभन्दा माथिको शेयर कारोबार भएको छ । बैँकको संस्थापक शेयरको ५ करोड र साधारण शेयरको ३ करोडमाथिको कारोबार भएको हो । नेपाल इन्भेष्टमेन्ट बैँकको संस्थापक शेयरको ४ करोड ८२ लाख र साधारण शेयरको २ करोड ४६ लाखमाथिको कारोबार भएको छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैँक र एभरेष्ट बैँकको झन्डै ६ करोडको शेयर कारोबार भएको छ । नविल बैँक र नेपाल बैँकको ३ करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल एसबीआई बैँक, लाइफ इन्स्योरेन्स कम्पनि, नेपाल बंगलादेश बैँक लगायतको २ करोडमाथिको कारोबार भएको छ । 

कमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको साझा विकास बैँकका लगानीकर्ताले ९.४४ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । स्टान्डर्ड चार्टर्ड बैँक, लाइफ इन्स्योरेन्स कम्पनि लगायतले पनि धेरै कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको मिथिला लघुवित्त विकास बैँकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । तारागाउँ रिजेन्सी होटल, सिनर्जी फाइनान्स, सेवा विकास बैँक लगायतले पनि गुमाएका छन् । 

सोमबार वाणिज्य बैँक, होटल, विकास बैँक, जलविद्युत्, फाइनान्स र बिमा समूहको मात्र कारोबार भएकोमा बिमा, वाणिज्य बैँक र जलविद्युत् समूह बढेका छन् भने अन्य घटेका छन् । सबैभन्दा धेरै बिमा समूह १००.८८ अंकले बढेको छ भने वाणिज्य बैँक १३.४९ अंकले बढेको छ । जलविद्युत् समूह ३.५ अंकले बढेको छ । होटल समूह सबैभन्दा धेरै २४.९४ अंकले घटेको छ भने फाइनान्स र विकास बैँक क्रमशः ५.०६, ४.८१ अंकले घटेका छन् ।