बीमा कम्पनीहरू र पुनर्बीमा कम्पनीबीच मध्यस्थताका लागि बीमा समितिले बीमा दलाल (ब्रोकर) निर्देशिका ल्याउने तयारी थालेको छ । सो प्रयोजनका लागि समितिले बीमा दलाललाई लाइसेन्स दिन त्यस्तो निर्देशिका आवश्यक भएको बताएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिको आइतवार उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सो जानकारी दिएका हुन् ।
बीमा ऐन २०४९ मा बीमा दलालको व्यवस्था भए पनि सरोकारवालाबाट यसका लागि पहल नभएकाले समितिले यसमा जोड दिएको उनको भनाइ थियो । उनले भने, ‘तर, अहिले यसबारे चासो देखाउन थालिएको छ ।’ रिलायबलले आइतवारदेखि नै कारोबार शुरू गरेको हो ।
बीमा समितिले पछिल्लोपटक कारोबार सञ्चालनको अन्तिम स्वीकृति दिएको र काम शुरू गरेको नयाँ बीमा कम्पनीमा रिलायबल लाइफ इन्स्योरेन्स पाँचौं हो । कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईंले सो कम्पनीको पहिलो बीमा खरीद गर्ने बीमित समृद्धि राई र राजु ढुङ्गेललाई सम्मानसहित बीमा गरेको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कम्पनीले ‘रिलायबल धनपति जीवनबीमा योजना’ पनि सार्वजनिक गरेको छ । यो नेपालमा सार्वजनिक गरिएको यस प्रकारको पहिलो विशेष किसिमको बीमा योजना भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले ससानो बचतबाट सजिलै करोडपति बन्न सकिने भएकाले यस्तो योजना ल्याइएको बताए । उनका अनुसार कम्पनीले ४० ओटा शाखा सञ्चालनका लागि अनुमति लिई चाँडै नै सञ्चालनमा ल्याउने भएको छ ।
‘एक वर्षभित्र देशका सबै स्थानमा आफ्नो उपस्थिति देखिने गरी हरेक वर्गका व्यक्तिका लागि कम्पनीले उपयोगी बीमा योजनाहरू बजारमा ल्याएको छ,’ उनले भने । कम्पनीले त्यसबाहेक रिलायबल सावधिक, अग्रिम भुक्तानी र उच्च शिक्षा जीवनबीमा योजना पनि ल्याएको छ ।
‘हामी सबै बन्न सक्छौं करोडपति, मात्र चाहिन्छ इच्छाशक्ति’ भन्ने नाराका साथ ल्याइएको रिलायबल धनपति जीवनबीमा योजनामा बीमितले मासिक रू. ८ हजार ८ सय १७ बीमाशुल्क (प्रिमियम) तिरेर ४० वर्षसम्मका लागि बीमा गर्न सक्छन् ।
कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहेको छ । कम्पनीको संस्थापक करीब २ सय ८० जना रहेका छन् । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । यो कुल चुक्तापूँजीको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत साधारण शेयर जारी गरेर पु¥याउने कम्पनीको योजना छ । बीमा समितिको प्रावधानअनुसार जीवनबीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब हुनुपर्छ । कम्पनीको अधिकृत पूँजी रू. २ अर्ब २० करोड छ भने जारी पूँजी रू. २ अर्ब रहेको छ । अभियान दैनिकमा प्रकाशित समाचार