हालै समस्याग्रस्त वित्तीय संस्थाको सूचिबाट फुकुवा भएको बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई खरिद गर्ने भएको छ । साबिकको जनरल फाइनान्सले समस्याग्रस्तबाट फुकुवा भएपछि नाम परिवर्तन गरी बेस्ट फाइनान्सको नामबाट कारोबार गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने बाध्यता रहेको बेस्टले सिनर्जीलाई प्राप्ती गर्ने प्रक्रिया अघि बढाएको छ । बेस्ट फाइनान्सले विहीबार पत्रकार सम्मेलन गर्दै कम्पनी प्राप्ति सम्बन्धि दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको जानकारी गराएको छ । सम्मेलनमा बेस्टका अध्यक्ष पदमराज न्यौपानेले सेयर आदनप्रादन अनुपात (स्वाप रेसियो) दुबै संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) पछि तय हुने जानकारी दिए ।
सम्झौताअनुसार, प्राप्तिपछि कम्पनीको नाम बेष्ट फाइनान्स रहने र अध्यक्षमा न्यौपानेले नै निरन्तरता पाउने छन् । प्रमुख कार्यकारी अधिकृतमा भने सनर्जी फाइनान्सका बिनितमणि उपाध्याय रहने छन् । सिनर्जीलाई अबको पाँच महिनाभित्र प्राप्ती गरिसक्ने बेस्ट फाइनान्सको योजना रहेको छ ।
अध्यक्ष न्यौपानेका अनुसार, सिनर्जी फाइनान्सले कार्तिक १७ गतेको साधारण सभामा ७० प्रतिशत हकप्रद दिने प्रस्तावलाई स्थगित गरि पहिले नै घोषणा भएको २५ प्रतिशतलाई निरन्तरता दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्तबाट फुकुवा भएको २ वर्षभित्र तोकेको चुक्तापूँजी पुर्याउनुपर्ने व्यवस्था ल्याएअनुरुप यो फाइनान्सले पुँजीवृद्धिका लागि थप समय पाएको छ । नयाँ व्यवस्थाअनुसार यी दुई संस्थाले आर्थिक वर्ष २०७५।७६ को अन्त्यसम्ममा ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । २०७० जेठ ८ गते समस्याग्रस्त घोषणा भएको जनरल फाइनान्स २०७३ पुस ३ गते समस्याग्रस्तबाट फुकुवा भएको थियो ।