बेष्ट फाइनान्स लिमिटेडको नामबाट कारोबार गर्ने गरी मंगलबार (असोज २४ गते)देखि जनरल फाइनान्स लिमिटेडको नाम र लोगो परिवर्तन भएको छ । कम्पनीको प्रधान कार्यालयमा लोगोको छाप लगाई कम्पनीका अध्यक्ष पदमराज न्यौपानेले परिवर्तित नामबाट कारोबार शुभारम्भको उद्घाटन गरे ।
संस्थाको गत जेठ १० गते सम्पन्न साधारणसभाले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमाथि नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखीकरण पश्चात् नयाँ नामबाट कारोबार सुरु गरिएको हो । गैरआवासीय नेपालीहरुको प्रवद्र्धन समेत रहेको यस संस्थाको स्थापना २०५२ सालमा भएको थियो । बेष्ट फाइनान्सका हाल काठमाडौँको चाबाहिल र न्युरोडमा गरी दुई वटा शाखा रहेका छन् ।
संस्थाले आफ्नो पुँजी तथा संजाल वृद्धिसँगै आफ्ना ग्राहकहरुलाई आधुनिकीकरण गर्दै वित्तीय सेवाहरु सुलभ तरिकाले प्रदान गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले बताए । हाल संस्थाले विभिन्न कम्पनीहरुको सहयोगमा बेष्ट रेमिट, आईएमई, प्रभु रेमिट, वेष्टर्न युनियन मनि ट्रान्सफर, वल्र्ड लिंक मनि ट्रान्सफर र हिमाल रेमिटको सेवा समेत प्रदान गर्दै आएको छ ।
पुँजीवृद्धि नीति
हाल निष्काशनको क्रममा रहेको १२५ प्रतिशत हकप्रद सेयरपश्चात् फाइनान्सको चुक्तापुँजी २९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । यसपछि पुनः १७५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेर चुक्तापुँजी ८१ करोड ८१ लाख रुपैयाँ पुर्याउने कम्पनीको योजना रहेको छ । यसका अलावा, आवश्यक परे अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा गई पुँजीवृद्धि गर्न पनि गत साधारणसभाले संचालक समितिलाई अख्तियारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्तबाट फुकुवा भएको २ वर्षभित्र तोकेको चुक्तापूँजी पुर्याउनुपर्ने व्यवस्था ल्याएअनुरुप यो फाइनान्सले पुँजीवृद्धिका लागि थप समय पाएको छ । नयाँ व्यवस्थाअनुसार यी दुई संस्थाले आर्थिक वर्ष २०७५।७६ को अन्त्यसम्ममा ८० करोड रुपैयाँचुक्तापुँजी पुर्याउनुपर्नेछ । २०७० जेठ ८ गते समस्याग्रस्त घोषणा भएको जनरल फाइनान्स २०७३ पुस ३ गते समस्याग्रस्तबाट फुकुवा भएको थियो ।