२०७४ आश्विन २४ गते

चार करोड ६३ लाख कित्ता हकप्रद सेयर बजारमा

बैंकिङ खबर । यतिबेला नौ वटा कम्पनीको हकप्रद सेयर निष्काशन भइरहेको छ भने एउटा कम्पनीले यसै साता हकप्रद सेयर निष्काशन गर्दैछ । नौ वटा कम्पनीको चार करोड ६३ लाख कित्ता सेयर निष्काशन भइरहेको छ । हाल हकप्रद सेयर निष्काशन भइरहेका कम्पनीहरुमा मेगा बैंक, समिट माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, जेविल्स फाइनान्स, आरएसडीसी लघुवित्त, किसान माइक्रोफाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक र ओम डेभलपमेन्ट बैंक रहेका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले भने यही असोज २६ गतेदेखि हकप्रद निष्काशन गर्दैछ ।

मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । असोज ३० गतेसम्म निष्काशन हुने सेयरमा गत माघ ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, मेगा बैंककको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ । चार अर्ब ५८ करोड रुपैयाँ चुक्तापुँजी भएको मेगाले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर सम्झौता गरेको छ । मर्जर प्रक्रियाका लागि गत माघ ९ गतेदेखि नै दुवै बैंकको सेयर कारोबार रोक्का छ । तर, मर्जरको टुंगो नलाग्दै मेगाले हकप्रद निष्काशन गरेर सात अर्ब ५६ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन लागेको छ । गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको मेगाको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ छ । उक्त मुनाफाको जगेडा कोषलाई हेर्दा बैंकले अब बोनस सेयर जारी गरेर नै चुक्तापुँजी पुर्याउन सक्ने देखिन्छ । मेगाले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई पनि खरिद गर्दैछ ।

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड
समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले भदौ २९ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा सात करोड २५ लाख रुपैयाँ बराबरको सात लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कात्तिक १ गतेसम्म खुला रहने हकप्रदमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सानिमा क्यापिटल नक्साल, माइक्रोफाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु, सानिमा बैंकका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नाराणघाट, विरगञ्ज र जनकपुरबाट उक्त हकप्रद भर्न पाइनेछ । १० जिल्ला कार्यक्षेत्र भएको समिटको चुक्तापुँजी सात करोड २५ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी १५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । बैंकले २०७७ मा २७ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याउने प्रक्षेपण गरेको छ ।  

सिन्धु विकास बैंक लिमिटेड
सिन्धु विकास बैंक लिमिटेडले भदौ १८ गतेदेखि १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको २० लाख ९७ हजार ५ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । उक्त सेयरमा भदौ ८ गतेसम्म कायम सेयरधनीले कात्तिक ५ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । एनआईबीएल क्यापिटल, सिन्धु विकास बैंकको प्रधान कार्यालय बाह्रबिस सिन्धुपाल्चोक, कर्पोरेट कार्यालय बनेपा, शाखा कार्यालय बनेपा, मेलम्ची, खाडीचौर, दोललालघाट, मुडे, भकुण्डे, पाँचखाल तथा चरिकोट, बैंकिङ इकाई सिपाघाट काभ्रे र सुकुटे सिन्धुपाल्चोकबाट उक्त हकप्रदका लागि आवेदन दिन सकिनेछ । साथमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय चिप्लेढुँगा पोखरा, विराटनगर, वीरगञ्ज, नारायाणघाट, बुटव, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन दिन सकिने बताइएको छ । सिन्धु विकास बैंकको चुक्तापुँजी २६ करोड २१ लाख ९२ हजार पाँच सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि सिन्धुको चुक्तापुँजी ४७ करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ पुग्नेछ ।

जेबिल्स फाइनान्स लिमिटेड
जेबिल्स फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ८९ लाख रुपैयाँ बराबरको २८ लाख ८९ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कात्तिक ५ गतेसम्म खुला रहने हकप्रद सेयरमा भदौ १२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । फाइनान्सको हकप्रद आवेदन सनराइज क्यापिटल कमलपोखरी, जेबिल्स फाइनान्स न्युरोड, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा,  वीरगञ्ज, बुटवल  र  नारायणगढबाट भर्न पाइने सनराइज क्यापिटलले जनाएको छ । हकप्रद जारी गरेसँगै फाइनान्सको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ पुग्ने छ ।

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड
आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २ गतेदेखि दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । आरएसडीसीले एक सय रुपैयाँ अंकित मूल्यमा २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । आरएसडीसीको सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडले पाएको छ । संस्थाको सेयर निष्काशन कात्तिक ५ गते बन्द हुनेछ । हाल आरएसडीसी लघुवित्तको चुक्तापुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजीको दुई सय प्रतिशत हकप्रद जारी गरेपछि लघुवित्तको चुक्तापुँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।  

किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि एक सय बराबर २४ दशमलव ७७ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७८ करोड रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । किसानको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माइक्रोफाइनान्सको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरु, सिभिल बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, वुटवल र नेपालगञ्जका शाखाबाट हकप्रद भर्न पाइनेछ । सेयर निष्काशन कात्तिक ७ गतेसम्म खुला हुनेछ । हाल किसान माइक्रोफाइनान्सको चुक्तापुँजी तीन करोड २२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि संस्थाको चुक्तापुँजी चार करोड रुपैयाँ पुग्नेछ ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज १८ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक २१ गतेसम्म निष्काशन हुने हकप्रदमा भदौ २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । एस क्यापिटल लाल दरबार, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालय चाबहिल, न्यूरोड, किर्तिपुर, जावलाखेल, कौशलटार र उपत्यका बाहिर वीरगंज, पर्सा, चितवन, मोरङ, नारायणगढ, प्युठान, संखुवासभा र एक्सेल बैंकको केन्द्रिय तथा शाखा कार्यालयबाट उक्त हकप्रदमा आवेदन दिन सकिने छ । हाल एक्सेलको चुक्तापुँजी ३८ करोड ४५ लाख ६२ हजार छ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ५७ करोड ६८ लाख ४३ हजार आठ सय रुपैयाँ पुग्नेछ ।

ओम डेभलपमेन्ट बैंक लिमिटेड
ओम डेभलपमेन्ट बैंक लिमिटेडले असोज २३ गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक २६ गतेसम्म खुला रहने हकप्रदमा भदौ २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । एनआइबिएल क्यापिटल मार्केट्स, ओम डेभलपमेन्ट बैंकका केन्द्रीय तथा शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्टका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगन्ज, इटहरी र धनगढीबाट उक्त हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । हाल ओम डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ४९ करोड ३१ लाख रुपैयाँ बराबरको ४९ लाख ३१ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । जसपश्चात्, बैंकको चुक्तापुँजी दुई अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेड
यही असोज २६ गतेदेखि नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले १२० प्रतिशत अर्थात एक बराबर एक दशमलव दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २६ करोड ४३ लाख ५३ हजार आठ सय ८० रुपैयाँ बराबरको ३६ लाख ४३ हजार पाँच सय ३८ दशमलव ८० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रद सेयर निष्काशन कात्तिक २९ गतेसम्म खुला रहनेछ । हाल नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको चुक्तापुँजी २२ करोड दुई लाख ९५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी ४८ करोड ४६ लाख ४८ हजार आठ सय रुपैयाँ पुग्नेछ ।