हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
राष्ट्र बैंकमा कर्मचारी आन्दोलन
नेपाल राष्ट्र बैंकले ३० वर्षे सेवा अवधिको आधारमा अवकाश दिने नीति हटाएपछि कर्मचारीहरु आन्दोलित भए । बुधबारदेखि राष्ट्र बैंकका कर्मचारीहरुले चरणवद्ध आन्दोलन सुरु गरेका हुन् । राष्ट्र बैंक संचालक समितिले गत साता नै सेवा अवधिको मौजुदा व्यवस्था परिवर्तन गर्दै उमेर हद ५८ वर्ष पुगेपछि मात्रै अवकाश दिने व्यवस्था कायम गर्दै कर्मचारी विनियामावलीमा हस्ताक्षर गरेर लोकसेवा आयोग पठाएको छ । कर्मचारीहरुको असहमतिका बाबजुद यस्तो निर्णय गरिएको भन्दै राष्ट्र बैंकको केन्द्रीय कार्यालय सहित क्षेत्रीय कार्यालयमा कर्मचारीले आन्दोलन गरेका छन् । दशैँ लगत्तै खुलेको कार्यालयमा कर्मचारीहरुले दैनिक एक घण्टा गभर्नर, डेपुटी गभर्नर सहित सबै कार्यालयका प्रमुखको कार्य कक्षमा एक घण्टा धर्ना दिइरहेका छन् । आगामी आइतबारदेखि दोस्रो चरणको कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी कर्मचारी संगठनहरुले दिएका छन् । देश संघीयतामा गएको बेलामा कर्मचारी र राष्ट्र बैंकको आवश्यकतालाई मध्यनजर नगरी ३० वर्षे सेवा अवधि हटाउने निर्णय लिइएको कर्मचारी संगठनहरुको आरोप छ ।
बैंकिङ ठग पक्राउ
धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जना पक्राउ परे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा १५ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुन धितो राखेर कर्जा लिने र कर्जा दिने कार्यमा संलग्न कर्मचारीमा होमबहादुर भट्टराई, शंकर न्यौपाने, पुष्पराज घिमिरे, रामकिशोर मेहता, सानुबाबु श्रेष्ठ र विद्या तामाङ पक्राउ परेका छन् । त्यस्तै, सुन व्यापारी एवं ऋणी माधव रिजाल, सङ्गीत रसाइली, लालबहादुर विक, सन्तोष रसाइली, सुनिल विक, ज्ञानेन्द्र पुर्कोटी र लीजा थापामगरलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । बैंक घोटाला प्रकरणमा पक्राउ परेका सबैलाई उच्च अदालत विराटनगरबाट म्याद थप गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको प्रहरी हिरासतमा राखिएको छ ।
तीन निर्जिवन बीमा कम्पनीलाई आशयपत्र
बीमा समितिले तीन वटा निर्जिवन बीमा कम्पनीलाई संचालनका लागि ’लेटर अफ इन्टेन्ट’(आशयपत्र)दियो । चारवटा निर्जीवन कम्पनीले संचालनको अनुमतिका लागि आवेदन दिएकोमा तीन वटाले मात्र आशयपत्र पाएका हुन् । प्रारम्भिक चरणको आशयपत्र पाउनेमा सानिमा इन्स्योरेन्स कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र अजोड इन्स्योरेन्स कम्पनी रहेका छन् । आवश्यक कागजपत्र पुर्याउन नसक्दा मनकामना इन्स्योरेन्स कम्पनीले भने आशयपत्र पाउन सकेन । अनुमति पाएका निर्जीवन बीमा कम्पनीले संचालनको अनुमति प्राप्त गर्नका लागि अबको तीन महिना भित्र एक अर्ब रुपैयाँ चुक्ता पूँजीको ७० प्रतिशत रकम जुटाउनु पर्नेछ ।
नेप्से महाप्रबन्धकमा तीन नाम छनौट
अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को महाप्रवन्धकमा तीन जनाको नाम छनौट गर्यो । अन्तर्वार्ता, प्रिजेन्टेशन, अनुभव लगायतका आधारमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवाली नेप्सेको महाप्रबन्धकमा छनौट भएका हुन् । छनौट भएका तीनै जना आआफ्नो क्षेत्रमा अनुभवी मानिन्छन् । छनौट भएकामध्ये यी तीन जनामध्ये एकजनालाई मन्त्रीपरिषद्ले महाप्रवन्धकमा नियुक्त गर्नेछ ।
सेयर निष्काशन
यसै साताको बुधबोरदेखि एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । सोही दिनदेखि, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्यो ।




