अब एक जिल्ला कार्यक्षेत्र भएका बैंकहरु नरहने भएका छन् । हालसम्म चार वटा एक जिल्ले बैंकहरु संचालनमा रहेकोमा अब ती बैंकहरु पनि मर्जर वा एक्विजिसनको बाटो खोजिरहेका छन् ।
मर्जर तथा एक्विजिसनको बाटो ताक्दै
अहिले, एक जिल्ला कार्यक्षेत्र भएका माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेड, काबेली विकास बैंक लिमिटेड, हाम्रो विकास बैंक लिमिटेड र सहारा विकास बैंक लिमिटेड संचालनमा छन् । जसमध्ये, माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेड र काबेली विकास बैंक लिमिटेड एक आपसमा मर्ज हुने भएका छन् । हाल एक जिल्ला कार्यक्षेत्र भएका माउण्ट मकालु र काबेली विकास बैंक एक आपसमा मर्ज भएर ३ जिल्ले विकास बैंक बन्ने भएका हुन् । हाल मर्जर प्रक्रिया अघि बढिसकेको माउण्ट मकालु डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार खड्काले बताए । प्रमुख कार्यकारी अधिकृत खड्काले बैंकिङ खबरलाई दिएको जानकारी अनुसार आगामी पौष महिनाभित्र यी दुई बैंकबीच मर्जर भई एकिकृत कारोबार शुरु हुनेछ ।
बाँकी रहेका हाम्रो विकास बैंक र सहारा विकास बैंक पनि मर्जर तथा एक्विजिशनमा जाने बाटो खोज्दैछन् । जसपश्चात्, एक जिल्ले विकास बैंकको संख्या शून्यमा झर्नेछ ।
संघीयताको प्रभाव विकास बैंकहरुलाई पर्ने
त्यसमाथि, मुलुकमा संघीयता लागू भएपछि विकास बैंकको वर्गीकरणमा फरकपन आउन सक्ने बुझिएको छ । हाल, विकास बैंकहरुलाई एक जिल्ले, तीन जिल्ले, १० जिल्ले र राष्ट्रिय स्तरको गरी चार प्रकारमा वर्गीकरण गरिएको छ । संघीयता लागू भएपछि भने राष्ट्रिय स्तरका र प्रदेशस्तरका विकास बैंकहरु रहने सम्भावना रहेको छ । त्यसैले, अब एक जिल्ले विकास बैंक मात्र नभएर तीन जिल्ले र १० जिल्ले विकास बैंकहरु पनि नरहने भएका छन् ।
ठूलो संख्यामा रहेका विकास बैंकहरु नेपाल राष्ट्र बैंकको पूँजी वृद्धिको योजनापछि सानो संख्यामा खुम्चिँदै गएका छन् । पछिल्लो ६ महिनाभित्र मात्रै विकास बैंकको संख्या ५५ बाट ३५ वटामा झरिसकेको छ भने अझै पनि घट्ने क्रम जारी रहेको छ ।