२०७४ आश्विन ११ गते

क्षेत्रीय स्तरका विकास बैंकमा ‘पूर्णविराम’ लाग्दै

रोयल आचार्य । क्षेत्रीय स्तरका विकास बैंकहरुमा अब पूर्ण विराम लाग्ने भएको छ । क्षेत्रीय स्तरका अर्थात अहिले १० जिल्ला कार्यक्षेत्र भएको एक मात्र विकास बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको विकास बैंक बन्ने भए पछि क्षेत्रीय विकास बैंक नरहने भएका हुन् । 

पूँजी वृद्धि गरी राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारी भइरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘हामी अहिले मर्जर तथा एक्विजिशनको पहलमा छौं’ बैंकिङ खबर डट कमसँगको कुराकानीमा सिइओ पौडेलले भने– ‘कुनै बैंक वित्तसँग मर्ज हुने वित्तीकै हामी राष्ट्रिय स्तरको विकास बैंक बन्नेछौं ।’ राष्ट्रिय स्तरको विकास बैंक भएपनि प्रदेश नम्बर ५ मा नै बढी केन्द्रित हुने सीईओ पौडेलको भनाई थियो । शाइन रेसुङ्गा राष्ट्रिय स्तरको विकास बने सँगै मुलुकमा १० जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको संख्या शुन्य हुने भएको छ । 

१० जिल्लालाई कार्यक्षेत्र बनाएर कारोबार गर्दै आएका विकास बैंकहरु नेपाल राष्ट्र बैंकको पूँजी वृद्धिको योजना पछि अधिकांश विलय भएका थिए । गत वर्षसम्म १२ वटाको संख्यामा रहेका १० जिल्ले विकास बैंकमध्ये केहि कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरका विकास बैंक बनेका छन् भने केहि विकास बैंकहरु अन्य संस्थामा गएर मर्ज भएका छन् । 

राष्ट्र बैैंकको पूँजी वृद्धि नीतिअघि १२ वटाको संख्यामा रहेका यी बैंकहरुमध्ये गण्डकी विकास बैंक, फेवा विकास बैंकसँग मर्जरमा गएर राष्ट्रिय स्तरको विकास बैंक बनेको छ । १० जिल्ला कार्यक्षेत्र रहेका कामना विकास बैंक र सेवा विकास बैंक पनि एक आपसमा गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल भएका छन् भने अन्य अधिकांश बैंकहरु नाम नै नरहने गरी अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा गएका छन् । 

केहि समय अघिका १० जिल्ले विकास बैंकहरु
१. अरनिको विकास बैंक (धुलिखेल, काभ्रे)
२. विराटलक्ष्मी विकास बैंक (विराटनगर)
३. सिटि डेभलपमेन्ट बैंक (पोखरा)
४. कन्ट्री डेभलपमेन्ट बैंक (बनेपा)
५. एकता डेभलपमेन्ट बैंक (बुटवल)
६. गण्डकी विकास बैंक (पोखरा)
७. कामना विकास बैंक (पोखरा)
८. मालिका विकास बैंक (धनगढी, कैलाली)
९. पश्चिमाञ्चल डेभलपमेन्ट बैंक (बुटवल)
१०. प्रोफेशनल दियालो विकास बैंक (बनेपा)
११. सेवा विकास बैंक (बुटवल)
१२. शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक (बुटवल)

कुन बैंक कुनमा गाभिए ? 
काभ्रेको धुलिखेल प्रधान कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंक सेञ्चुरी कमर्सियल बैंकमा विलय भएको थियो भने प्रदेश नम्बर १ को विराटनगरमा केन्द्रीय कार्यालय रहेको विराटलक्ष्मी विकास बैंक र बनेपा केन्द्रीय कार्यालय रहेको कन्ट्री डेभलपमेन्ट बैंक प्राइम कमर्सियल बैंकमा विलय भएका थिए । पोखरा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक भने फेवासँग मर्ज भएर राष्ट्रिय स्तरको विकास बैंक बनेको छ । पोखरा नै केन्द्रीय कार्यालय रहेको कामना विकास बैंक र बुटवल केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक एक आपसमा मर्ज भएर राष्ट्रिय स्तरको विकास बैंक बनेको छ । त्यसैगरी पोखरा केन्द्रीय कार्यालय रहेको सिटि डेभलपमेन्ट बैंक ओम डेभलपमेन्ट बैंकमा, बुटवल केन्द्रीय कार्यालय रहेको एकता डेभलपमेन्ट बैंक तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकसँग, कैलालीको धनगढी केन्द्रीय कार्यालय रहेको मालिका विकास बैंक महालक्ष्मी विकास बैंकमा, बुटवल केन्द्रीय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक क वर्गको मेगा बैंकमा र बनेपा केन्द्रीय कार्यालय रहेको प्रोफेशनल दियालो विकास बैंक लक्ष्मी बैंकसँग विलय भइसकेका छन् । मर्जर तथा एक्विजिशन पछि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकको संख्या १२ बाट घटेर १ मा झरेको हो ।