Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालका सबै बैंकहरु जोखिमुक्त

२०७४ आश्विन १५ गते

पछिल्लो समय पुँजीवृद्धि, शाखा तथा व्यवसाय विस्तार, वित्तीय साक्षरता अभिवृद्धि, बैंकिङ प्रविधिको प्रयोगमा जोड लगायतका कारणले बैंकिङ क्षेत्र सबल बन्दै गइरहेको छ । बैंकहरुले नाफा बढाउँदै लगेका छन् भने खराब कर्जाको अनुपातलाई घटाउँदै लगेका छन् । गत आर्थिक वर्षमा २२ वटा बैंकहरुको खराब कर्जा घटेको छ । नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, सिभिल बैंक र एनसीसी बैंकको खराब कर्जा भने गत आर्थिक वर्षको तुलनामा बढेको छ ।

११ बैंकको खराब कर्जा एक प्रतिशतभन्दा कम
१० वटा बैंकको खराब कर्जा एक प्रतिशतभन्दा पनि कम रहेको छ । सानिमा बैंकको निष्कृय कर्जा सबैभन्दा कम शुन्य दशमलव ०१ प्रतिशत रहेको छ । त्यसपछि नेपाल एसबिआई बैंकको खराब कर्जा शून्य दशमलव १० प्रतिशत रहेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले निष्कृष्य कर्जा अनुपातलाई शून्य दशमलव १९ प्रतिशतमा झारेको छ । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा खराब कर्जा अनुपात एक वर्षमा शून्य ३६ प्रतिशतमा झारेको छ भने माछापूछ्रे बैंकको निष्कृय कर्जा शुन्य दशमलव १८ प्रतिशतले घटेर शुन्य दशमलव ३७ प्रतिशत कायम भएको छ । एभरेष्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५१ प्रतिशतमा कायम भएको छ भने प्राइम कमर्सियल बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४५ प्रतिशतले घटेर शुन्य दशमलव ७८ प्रतिशत कायम भएको छ । हिमालयन बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३६ प्रतिशतले घटेर शुन्य दशमलव ८७ प्रतिशत कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएपनि नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकको खराब कर्जा पनि एक प्रतिशतभन्दा तल रहेको छ । नेपाल बङ्गलादेश बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०५ प्रतिशतले बढेर शुन्य दशमलव ७६ प्रतिशत पुगेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा शुन्य दशमलव ६८ प्रतिशतबाट बढेर शुन्य दशमलव ८३ प्रतिशत पुगेको छ भने लक्ष्मी बैंकको निष्कृय कर्जा शुन्य दशमलव १३ प्रतिशतले बढेर शुन्य ९३ प्रतिशत पुगेको छ

१० बैंकको खराबकर्जा दुई प्रतिशतभन्दा कम
१० वटा बैंकले खराबकर्जा दुई प्रतिशतभन्दा कम कायम गरेका छन् । जसमध्ये, नविल बैंकको खराब कर्जा शून्य दशमलव ३५ प्रतिशतले घटेर एक दशमलव १४ प्रतिशत कायम भएको छ भने सिद्धार्थ बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशतले घटेर एक दशमलव १५ प्रतिशत कायम भएको छ । सेञ्चुरी कमर्सियल बैंकको निष्कृय कर्जा एक दशमलव १५ प्रतिशत रहेको छ भने सिटिजन्स बैंकको एक दशमलव २८ प्रतिशत मेगा बैंकको निष्कृय कर्जा एक दशमलव ३६ प्रतिशत र सनराइज बैंकको निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशत रहेको छ । त्यस्तै, बैंक अफ काठमाण्डूले निष्कृय कर्जा दुई दशमलव ५१ प्रतिशतबाट एक दशमलव ४६ प्रतिशतमा झरेको छ भने एनएमबि बैंकको निष्कृय कर्जा शुन्य दशमलव १५ प्रतिशतले घटेर एक दशमलव ६६ प्रतिशत कायम भएको छ । यता, ग्लोबल आईएमई बैंकले प्रवाह गरेको कूल कर्जामध्ये एक दशमलव ७५ प्रतिशत कर्जा मात्रै निष्कृय भएको छ ।

कुमारी बैंकको खराब कर्जा एक दशमलव ८६ प्रतिशत रहेको छ । कुमारीको खराब कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुमारी बैंकको खराब कर्जा एक दशमलव १५ प्रतिशत रहेको थियो ।

सात बैंकमा धेरै निष्कृय कर्जा
सात वटा बैंकमा भने निष्कृय कर्जा अन्य तुलनामा धेरै रहेको छ । सरकारी स्वामित्वका तीनवटै बैंकमा निष्कृय कर्जा धेरै रहेको छ । अघिल्लो वर्ष चार दशमलव २५ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकको बैंकको खराब कर्जा गत वर्ष दुई दशमलव ३५ प्रतिशतमा झरेको छ । त्यस्तै, कृषि विकास बैंकको निष्कृय कर्जा एक दशमलव ३९ प्रतिशतले घटेर दुई दशमलव ९७ प्रतिशत कायम भएको छ भने नेपाल बैंक तीन दशमलव १७ प्रतिशत रहेको छ । जनता बैंकको निष्कृय कर्जा शुन्य दशमलव २८ प्रतिशतले घटेर दुई दशमलव ०९ प्रतिशत कायम भएको छ । प्रभु बैंकको निष्कृय कर्जा चार दशमलब ०९ प्रतिशतले घटेर चार दशमलव २९ प्रतिशत कायम भएको छ

सिभिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा भने निष्कृय कर्जा बढेको छ । सिभिल बैंकको खराब कर्जा एक दशमलव ३५ प्रतिशतले बढेर चार दशमलव ०५ प्रतिशत पुगेको छ । यता, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको खराब कर्जा खराब ०।९१ प्रतिशतबाट बढेर चार दशमलव ८० प्रतिशत पुगेको छ ।

सबै बैंक जोखिममुक्त
यो विवरण अनुसार, सबै बैंकहरूले राष्ट्र बैंकको निर्देशन पालना गरेको देखिन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूलाई अधिकतम ५ प्रतिशतसम्म खराब कर्जा जोखिममुक्त मानिन्छ । यो अन्तर्राष्ट्रिय रुपमै रहेको मान्यता हो । जसअनुसार, खराबकर्जाका हिसाबले कुनै पनि बैंकहरु जोखिमयुक्त छैनन् । सबै बैंकले खरबकर्जा पाँच प्रतिशतभन्दा कम विन्दुमा कायम गरेका छन् । बैंकहरूले विगतबाट पाठ सिक्दै संयमित तरिकाले लगानी गर्न थालेका छन् भने नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि नियमनमा कडाइ गर्दै लगेको छ । फलस्वरुप, बैंकहरु बलिया हुँदै गइरहेका छन् ।

Ad