२०७४ आश्विन १० गते

राष्ट्र बैंकले आवश्यकता अनुसार कर्मचारी राख्न सक्ने

दोहोरो अवकाश नीतिका कारण ठूलो संख्यामा कर्मचारी कटौती हुने भएपछि नेपाल राष्ट्र बैंकले एकद्धार अवकाश नीति कायम गरेको छ । यसअघि, उमेर हद ५८ वर्ष र सेवा अवधि ३० वर्ष पुगेपछि अवकाश दिने व्यवस्था रहेकामा ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष उमेर हदका आधारमा मात्र अवकाश दिने नीति कायम गरिएको हो । यसबाट छिटै नै अवकाश हुन लागेका तीन सय भन्दा बढी कर्मचारीको जागीर जोगिएको छ । 

हुन त, राष्ट्र बैंकमा कर्मचारीको निश्चित मापदण्ड छैन । राष्ट्र बैंकमा यति संख्यामा कर्मचारी हुनुपर्छ भनेर कुनै नीति तथा व्यवस्थाहरुमा उल्लेख गरिएको छैन । राष्ट्र बैंकले आफ्नो आवश्यकताअनुसार कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था छ । 

आवश्यकताअनुसार परिवर्तन
राष्ट्र बैंकमा कर्मचारी अवकाश नीति समयसमयमा परिवर्तन हुँदै आएको छ । वि.सं. २०१६ सालदेखि २०२२ सम्म ६० वर्ष उमेर पुगेपछि अवकाश लिनुपर्ने व्यवस्था रहेकोमा २०२३ सालमा केही वर्षको लागि ६३ वर्ष कायम गरिएको थियो । पछि, पुनः ६० वर्षमा नै अवकाश लिनुपर्ने नीति लागू गरियो । वि.सं. २०४९ सालमा निजामति सेवामा भएको परिवर्तनलाई अनुशरण गर्दै उमेरको हद ५८ वर्षमा झारियो र सेवा अवधि ३० वर्ष पुगेपछि पनि अवकाश लिनुपर्ने व्यवस्था गरिएको थियो । उक्त दोहोरो अवकाशसम्बन्धी व्यवस्था अव्यवहारिक र अनुपयुक्त देखिएको भन्दै निजामति सेवामा २०५५ सालमा सेवा अवधिको प्रावधान हटाएर एकद्धारा नीति अवलम्बन गरिएपछि सोही बमोजिम राष्ट्र बैंकले पनि २०५६ सालमा उमेर हद ५८ वर्षको आधारमा मात्रै अवकाश दिने गरी एकद्धारा नीति लागू गरेको थियो । नेपालको वित्तीय क्षेत्र सुधार कार्यक्रम (सन् २०००, ०१) अन्तर्गत NRB Re-Engineering परियोजना लागू गर्ने सन्दर्भमा कार्यरत कर्मचारीको संख्या करिब १५ सयको सीमाभित्र ल्याउन २०६२ सालमा अवकासका लागि पुनः उमेरको हद ५८ वर्ष र सेवा अवधि ३० वर्ष कायम गरिएको थियो । यो व्यवस्था केवल अधिक कर्मचारीको समस्यालाई हल गरी कर्मचारी संख्यालाई सही आकारमा ल्याउन चालिएको कदम मात्र थियो । केन्द्रीय बैंकमा कम उमेरमै अनुभवि कर्मचारीलाई अवकास गराउन वित्तीय सुधार कार्यक्रमको उद्धेश्य पटक्कै थिएन । केवल केही वर्षका लागि ल्याइएको यो व्यवस्थ न संसारको कुनै मुलुकमा रहेको छ, न त तिनै दातृ निकायमा यस्तो व्यवस्था छ । 

अब भने कार्यरत कर्मचारीको संख्या परियोजनाले आदर्शतम मानेको संख्याभन्दा निकै कम अर्थात् ११०० को हाराहारीमा कायम भइसकेकाले पुनः एकद्धारा नीति नै लागू गर्नुपर्ने देखिएको हो । हाल राष्ट्र बैंकमा ११ सय २५ जना कर्मचारी कार्यरत छन् । जसमध्ये, कार्यालय सहयोगी स्तरमा एक सय ४३ जना, टेबल वर्क गर्ने अधिकृत स्तरमा छ सय ५९ जना र सहायक स्तरमा तीन सय २३ जना गरी जम्मा नौ सय ८२ जना कर्मचारीबाट मात्रै बैंकको महत्वपूर्ण कार्य सम्पादन गर्नुपर्ने स्थिती देखिएको राष्ट्र बैंकले जनाएको छ ।