२०७४ आश्विन ९ गते

वित्तीय सुधारका लागि ३० वर्षे सेवा अवधि हटाउनु जरुरी

विभिन्न अध्ययनले ३० वर्ष सेवा अवधिका आधारमा अवकाश दिने नीतिका कारण नेपाल राष्ट्र बैंकलाई ठूलो व्ययभार परेको देखाएपछि विद्यमान अवकाश नीतिमा पुनरावलोकन गर्दै एकद्धार नीति कायम गर्ने निर्णय गरिएको छ । स्टाफ कलेजबाट गराइएको सर्वेक्षण प्रतिवेदनले ३० वर्षे अवकाश नीतिका कारणले बैंकले औसतमा एउटा कर्मचारीले ५ वर्षको सेवा अवधि गुमाउने र साथमा वर्षेनि राष्ट्र बैंकले पनि ठूलो आर्थिक व्ययभार व्यहोनुपरेको तथ्य उल्लेख गरेको थियो । ३० वर्ष सेवा अवधि पुगेर अवकाश लिने कर्मचारीलाई ६० वर्षसम्म सम्पूर्ण सुविधा दिन पर्ने विद्यमान व्यवस्थाका कारण राष्ट्र बैंकलाई उक्त व्ययभार पर्न गएको हो । यद्यपि, ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष उमेर हदका आधारमा मात्रै अवकाश दिने एकद्धार नीति लागू गर्दा केन्द्रीय बैंकको वार्षिक ३० करोड रुपैयाँ बचत हुने देखिएको छ ।

राष्ट्र बैंकलाई दोहोरो भार 
३० वर्षे सेवा अवधि कायम रहेमा राष्ट्र बैंकलाई दोहोरो घाटा हुने देखिएको छ । राष्ट्र बैंकले विद्यमान कर्मचारीका साथसाथै अवकाशप्राप्त कर्मचारीलाई पनि पाल्नुपर्ने हुन्छ । हाल कार्यरत ११२५ जना कर्मचारीलाई तलबभत्ता र सेवा निवृत्त २७ सयभन्दा बढी कर्मचारीलाई पेन्सन भत्ता दिनुपर्ने दायित्व राष्ट्र बैंकसँग छ । यसरी बैंकले काम लिन सक्ने ठूलो आकारको जनशक्तिले नै वर्षे्िन अवकाश पाउँदा पेन्सन दायित्व स्वतः बढ्दै जान्छ । हाल सरदर कर्मचारी ५० वर्षमा रिटायर्ड हुने अवस्था रहेको छ । यस्ता कर्मचारीहरुले अवकाश पाउने उमेर ६० वर्ष पुग्न बाँकी रहेको अवधि थप गरी निजको सेवा अवधि गणना गरिने व्यवस्था रहिआएको छ । यसले गर्दा, कार्यरत कर्मचारीको लागि बैंकले खर्चिनुपर्ने रकमकै हाराहारीमा पेन्सन भुक्तानी गर्नुपरेको छ । सेवा अवधिकै कारणले निवृत्त कर्मचारीको लागि मात्र बैंकलाई औसतमा प्रतिवर्ष झन्डै १६ करोड रुपैयाँ अतिरिक्त व्ययभार पर्ने गरेको राष्ट्र बैंकले बताएको छ । 

त्यसमाथि, अन्य सरकारी स्वामित्वका बैंकहरुमा पनि ३० वर्षे सेवा अवधिको आधारमा अवकाश दिने नीति कायम रहँदा अरबौँ रुपैयाँको नोक्सानी हुने भएकाले उक्त नोक्सानीबाट बच्न जरुरी रहेको राष्ट्र बैंकले जनाएको छ । प्रति व्यक्ति औषत आयु वृद्धि भएको, राष्ट्र बैंकको कर्मचारी आवश्यकता, बैंकलाई पर्ने थप वित्तीय भार, राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय अभ्यास समेतलाई मध्यनजर गर्दै विभिन्न अध्ययन प्रतिवेदनले सुझाव दिएबमोजिम कार्यरत कर्मचारीको वृत्ति विकासमा पर्ने असरलाई न्यूनिकरण गर्दै सेवा अवधि हटाएर उमेर हदका आधार अवकाश दिने नीति लागू गर्न लागिएको राष्ट्र बैंकको दाबी छ । 

कर्मचारी अभावको समस्या
हालको दोहोरो अवकाश नीति आगामी दिनमा पनि कायम रहेमा प्रशासनिक एवम् वित्तीय दृष्टिले समेत थुप्रै समस्याहरु आइपर्ने देखिएको छ । दोहोरो अवकाश नीतिबाट धेरै कर्मचारी कटौति हुने हुन्छ । हाल राष्ट्र बैंकमा कार्यरत जनशक्ति नै न्यून रहेको छ । यसले गर्दा १६५ वटा बैंक तथा वित्तीय संस्था र तिनीहरुको पाँच हजारको हाराहारीमा रहेका शाखाहरुको प्रभावकारी नियमन र सुपरीवेक्षणमा कठिनाई हुने देखिन्छ । त्यसमाथि, सरकारको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिको तर्जुमा गर्ने र कार्यान्वयनमा समेत ल्याउने जिम्मेवारी राष्ट्र बैंकको काँधमा छ । यस्तो अवस्थामा, हालको नीति नै कायम रहे राष्ट्र बैंकले न्यून जनशक्तिका कारण अपेक्षा अनुरुपको भूमिका निर्वाह कठिन हुने र वित्तीय क्षेत्रमा समयसमयमा देखा पर्ने संकटको समाधान गर्न र सरकारको लक्षित कार्यक्रम कार्यान्वयनका लागि सञ्चालन गरिने विभिन्न परियोजनाका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन ठुलो चुनौति हुने देखिएको छ । यसले राष्ट्र बैंकले दिने सेवाको गुणस्तरमा नै ह्रास आउन गई बैंकको साखमा नै नकारात्मक प्रभाव पर्दै गएको छ । आर्थिक वर्ष २०७५।७६ पछि रिक्त हुने कार्यकारी निर्देशकको पदको लागि तोकिएको न्युनतम मापदण्ड पूरा गर्ने उम्मेदवार नै नभई नेतृत्वको संकट नै सिर्जना हुन सक्ने खतरा दोहोरो अवकाश नीतिले ल्याउने देखिन्छ । यदि, यसो भएमा नगद गन्ने प्रयोजनका लागि नियुक्त गरिएका तथा कार्यालय सहयोगीका रुपमा भित्रिएका कर्मचारीले नै अधिकृत स्तरको काम गर्नुपर्ने अवस्था समेत आउन सक्ने देखिएको छ । 

अनुभवी कर्मचारी कम उमेरमै बाहिरिने अवस्था
यति मात्र हैन, वर्तमान नीतिले वुढा पुराना कर्मचारीको अवकास हुने नभई तालिम र अनुभवले परिपक्क तर कम उमेरमै कर्मचारी वाहिरिने अवस्था सिर्जना भई केन्द«ीय बैंक जस्तो नितान्त नीति निर्माणमा प्रमुख भूमिका रहने संस्थामा ठुलो समस्या पर्ने देखिन्छ । त्यसो त विभिन्न संस्थामा काम गर्दै राष्ट्र बैंक प्रवेश गरेका उमेरले पाका र ३० वर्ष सेवा अवधि नपुगेका कर्मचारीको संख्या पनि उल्लेख्य रहेको छ । त्यसैगरी, नेपाल सरकारमा एकद्धार अवकास नीति उपयुक्त हुने तर केन्द्रीय बैंकमा तिनै व्यक्ति नालायक कसरी हुन्छन् भन्ने कुराको जवाफ दिन कोही तयार छैन । यिनै सबै समस्याहरुको समाधान स्वरुप बैंकवाटै गराइएका अध्ययनका सुझाव अनुरुप औचित्य पुष्टि हुने भएर नै एकद्धार अवकाश नीति नै लागू गर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको छ । 

हाल राष्ट्र बैंकमा ११ सय २५ जना कर्मचारी कार्यरत छन् । जसमध्ये, कार्यालय सहयोगी स्तरमा एक सय ४३ जना, टेबल वर्क गर्ने अधिकृत स्तरमा छ सय ५९ जना र सहायक स्तरमा तीन सय २३ जना गरी जम्मा नौ सय ८२ जना कर्मचारीबाट मात्रै बैंकको महत्वपूर्ण कार्य सम्दान गर्नुपर्ने स्थिती देखिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्थालाई नै निरन्तरता दिने हो भने २०७५ चैत्र मसान्तसम्ममा ३०२ जना कर्मचारी सेवाबाट निवृत्त हुने देखिएको छ ।