२०७४ आश्विन ८ गते

आधा दर्जन कम्पनीले गरे बोनस घोषणा, कुनले कति दिँदै ?

आइतबार एकैदिन छ वटा कम्पनीले लाभांश वितरणको घोषणा गरेका छन् । गत आर्थिक वर्षको कमाईबाट बोनर घोषणा गर्नेमा दुई वटा बीमा कम्पनी, दुई वटा विकास बैंक र दुई वटा लघुवित्त वित्तीय संस्था रहेका छन् ।  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, कैलाश विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, आरएसडिसी लघुवित्त विकास बैंक र साना किसान विकास बैंकले लाभांस घोषणा गरेका हुन् । 
 
प्रुडेन्सियल इन्स्योरेन्सको शुक्रबार साँझ बसेको संचालक समितिको १७२औँ वैठकले गत बर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयरर कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । हाल ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले आठ करोड ५५ लाख ३६ हजार रुपैयाँ बराबरको बोनस सेयर र ४५ लाख एक हजार आठ सय ९५ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । 

सिद्धार्थ इन्स्योरेन्सको संचालक समितिको १२२औँ संचालक समितिको बैठकले पनि २० प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । ५३ करोड ४५ लाख १७ हजार पाँच सय रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले १० करोड ६९ लाख तीन हजार पाँच सय रुपैयाँ बराबरको बोनस सेयर र ५६ लाख २६ हजार पाँच सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । 

यी दुई बीमा कम्पनीको संचालक समितिद्धारा प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीहरुको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् । 

त्यस्तै, कैलाश विकास बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयरका साथमा ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल दुई अर्ब २९ करोड १४ लाख ८७ हजार दुई सय रुपैयाँ चुक्तापुँजी रहेको कैलाशले राष्ट्र बैंकको निर्देशनबमोजिम दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनका लागि बोनस सेयर वितरण गर्न लागेको हो । 

पुँजी पुर्याउनकै लागि सप्तकोशी डेभलपमेन्ट बैंकको संचालक समितिको बैठकले पनि ११.५० प्रतिशत लाभांश सेयर वितरण गर्ने घोषणा गरेको छ । २१ करोड १० लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले बैंकले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

यसबाहेक, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । ११ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाले एक करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बोनर सेयर र सात लाख ८६ हजार आठ सय ४२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । 

यता, साना किसान विकास बैंकले २५ प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले १२ करोड ५७ लाख ६५ हजार पाँच सय ८५ रुपैयाँ बराबरको बोनस सेयर र ६६ लाख १९ हजार २४१ रुपैयाँ ३७ पैसा नगद लाभांश वितरण गर्नेछ ।

विकास बैंक र लघुवित्त संस्थाहरुद्धारा प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकहरुको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।