हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । विशेषतः नेपाल राष्ट्र बैँकको ६१ औँ वार्षिकोत्सवको समाचारलाई सञ्चार माध्यमहरुले प्राथमिकतामा राखे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
वार्षिकोत्सव
गत मंगलबार नेपाल राष्ट्र बैँकले आफ्नो ६१ औँ वार्षिकोत्सवलाई भव्यताका साथ मनायो । शुक्रबारबाट कैलालीमा प्रमुख कार्यालय रहेको साझा विकास बैँकले आफ्नो वार्षिकोत्सव मनायो ।
शाखा तथा सेवा विस्तार
यसै साता एनसीडी बैँकले भैरहवामा आफ्नो शाखा विस्तार गर्यो । त्यस्तै, नेपाल बंगलादेश बैँकले मोरङको कोसी हरैँचा नगरपालीका १ विराटचोकमा आफ्नो शाखा विस्तार गर्यो । त्यस्तै, कम्युनिटी डेभलपमेन्ट बैँकले पनि रुपन्देहीको मणिग्राम र शंकरनगरमा एकैदिन आफ्नो सातौँ र आठौँ शाखा सञ्चालनमा ल्यायो । त्यस्तै, ग्लोबल आइएमई बैंकले सातौँ इपिएस कोरियन भाषा परिक्षाको लागि देशभरका बिभिन्न स्थानहरुमा काउण्टर स्थापना गरेर परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । यस बर्ष काठमाण्डौँ उपत्यकामा महेन्द्र आदश बिद्याश्रम, सातदोबाटो, ल्यावरटरी स्कल किर्तिपुर, च्यासल खेलमैदान, बालकुमारी, नेपाल वेद विद्यााश्रम संस्कृत मा.वि., गौशाला र काठमाण्डौँ भ्याली स्कुल, महाराजगञ्ज गरि ५ स्थान र उपत्यका बाहिर पोखरा, बुटवल, धरान, जनकपुर र डडेलधुरामा गरि ५ स्थानहरुबाट भाषा परिक्षा फारम बुझाउने व्यवस्था मिलाइएको छ । यसै साता, सनराईज बैंकले चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको अस्पताल भवनमा एक्सटेन्सन काउन्टर तथा एटीएम सञ्चालनमा ल्याएको छ ।
सम्झौता
एभरेष्ट बैंक र मेटलाईफ नेपालबीच बैंक–इन्स्युरेन्स सम्झौता पनि यसै साता भयो ।
सहयोग
हिमालयन बैँकले आफ्नो संस्थागत दायित्व अन्तर्गत नुवाकोट, भाल्चे गा.वि.स. वडा नं ३,४,५,६,७,८ र ९ का करीब ८ सय ५० बासिन्दालाई सौर्य बत्ती तथा ब्ल्यांकेट प्रदान गर्नुका साथै स्थानीय भाल्चे ४ अवस्थित जल्जु नि.मा.बि. का करीब ३ सय छात्र छात्राहरुका लागि कापी, कलम, ईरेजर, सार्पनर लगायतका शैक्षिक तथा विभिन्न खेलकुद सामग्रीहरु समेत प्रदान गर्यो ।
क्याम्पेन
यसै सातादेखि एनएमबि बैंकले आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक भन्ने नारासहित आफ्नो कर्पोरेट क्याम्पेन सुरु गर्यो ।
बैँकिङ पत्रकारिता तालिम
राजधानीको अनामनगरस्थित मिडिया इन्टरनेशनल र वित्तीय साक्षरताका लागि www.bankingkhabar.com को संयुक्त आयोजनामा बैँकिङ पत्रकारीता तालिम सम्पन्न भयो ।