अब नेपाली नोटहरु स्वदेशमै छापिने भएका छन् । सरकारले स्वदेशमै बैंक नोट, राहदानी, चेकबुक र बायोमेट्रिक कागजातलगायतको एकीकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ । स्विट्जरल्यान्डको केबीए नोटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाइको काम थाल्ने तयारी गरेको हो । सेक्युरिटी प्रेस ल्याउन ठूलो लगानी आवश्यक पर्ने बोर्डले जनाएको छ ।
बैंक नोट, राहदानी, बैंकको चेकलगायत सुरक्षणसम्बन्धी सम्पूर्ण छपाइ विदेशमा हुने गरेको छ । राष्ट्र बैंकले चीन, भारत, इन्डोनेसियालगायत मुलुकमा प्रतिस्पर्धाबाट बैंक नोट छाप्दै आएको छ । २० करोडप्रति बैंक नोट छाप्दा ४२ करोड रुपैयाँ सुरक्षण छापाखानालाई भुक्तानी गर्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैँकका अनुसार, बैंक नोट छाप्न वार्षिक ५० करोड रुपैयाँभन्दा बढी रकम बिदेशिने गरेको छ । यस्तै, एमआरपी राहदानी फ्रान्सको ओवर्थर टेक्नोलोजिजमा छाप्ने गरिएको छ ।
सुरक्षण छपाइमा वर्षेनि अर्बौं रुपैयाँ बिदेसिएपछि नेपालमै सुरक्षण छापाखाना स्थापना गर्न लागिएको हो । नेपालमा छपाइ गर्न सकिने सम्भावना र छपाइसम्बन्धी सबै काम एकीकृत रूपमा समाधान गर्न प्रयास थालिएको लगानी बोर्डको भनाइ छ । सरकारी छपाइका लागि मुद्रण विभाग सञ्चालनमा रहे पनि बैंक नोट, राहदानीलगायत अन्य सुरक्षणको छपाइका लागि विदेशमै निर्भर हुनपरेको छ । सरकारले सुरक्षाका कारण देखाउँदै मुद्रण विभागबाट छपाइ गरेको छैन ।
बोर्डको २२औं बैठकले नेपालमै सुरक्षण छापाखाना स्थापना, विकास र सञ्चालनका लागि लगानी प्रारुप तयार गरी सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा मुख्य सचिव डा. सोमलाल सुवेदी र बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलले प्रतिवेदन तयार गरिरहेको बोर्डले जनाएको छ । बोर्डको अबको बैठकमा सेक्युरिटी प्रेस राख्नेसम्बन्धी प्रस्ताव पेस हुने बताइएको छ । बोर्डपछि मन्त्रिपरिषद्बाट अन्तिम स्वीकृति लिनुपर्नेछ । कार्यदलले सार्वजनिक–निजी साझेदारी, सरकार वा निजी क्षेत्रबाट सेक्युरिटी प्रेसमा लगानी ल्याउने भन्ने सिफारिस गर्नेछ ।