साउन महिनामा ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै यस्तो बताएको हो । चालू आर्थिक वर्षको पहिलो महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात प्रतिशत वृद्धि भएको हो । गत वर्षको साउन महिनामा रेमिट्यान्स २.५ प्रतिशतले घटेको थियो ।
रेमिट्यान्स अप्रवाहमा वृद्धि देखिएपनि विदेशीनेको संख्यामा भने कमी आएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ११.८ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा ३५ हजार चार सय ८५ जना नेपाली रोजगारीको शिलशिलामा विदेशीएकोमा चालू वर्षको साउनमा ३१ हजार तीन सय नौ जना मात्रै विदेशीएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
त्यस्तै, गत बर्ष साउनमा दुई अर्ब ३२ करोड रुपैयाँ घाटामा रहेको चालु खाता यो वर्ष पाँच अर्ब ४३ करोड रुपैयाँ घाटामा पुगेको छ । त्यस्तै, शाधानान्तर घाटा पनि गत वर्षको तुलनामा बढेको छ । गत वर्षको पहिलो महिनामा दुई अर्ब ११ करोडले घाटामा रहेको शोधानान्तर यस वर्ष तीन अर्ब २९ करोड रुपैयाँ घाटामा गएको हो ।