गोरखामा नक्कली नोट भेटिएको छ । सोमबार गोरखा सदरमुकामको एक पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेको हो । सोमबार दोलखामा एक हजार रुपैयाँको नक्कली नोट भेटिएको जिल्ला प्रशासन कार्यालय गोरखाले पुष्टि गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार फेला परेका दुई भन्दा बढी नक्कली नोटमा एउटै च २५, ४३६१३३ नम्बर उल्लेख छ ।
ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको स्थानीय व्यापारीले बताएका छन् । नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको भेटिएको नक्कली नोटमा नभएको स्थानीयले बताएका छन् । गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाको पसलमा, नयाँ बजारस्थित ओमशंकर स्टोरमा, नयाँबजारकै जनमुखी सहकारीमा पनि एक हजार रुपैयाँकै नक्कली नोट फेला परेको थियो । नक्कली नोटको बिगबिगी बढेपछि व्यापारी र जनतालाई चनाखो रहन, नोट राम्रोसँग हेरेर मात्रै लेनदेन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । नक्कली नोटको कारोबार गर्नेको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ ।