साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ९६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २९ वटा कम्पनिको १२ लाख ७१ हजार ६ सय २८ कित्ता शेयर ४ हजार २ सय ६१ पटक किनबेच हुँदा कुल ९६ करोड ६२ लाख ७५ हजार ३ सय ७२ रुपैँया बराबरको कारोबार भएको हो । कारोबार रकम बुधबारको तुलनामा १० करोडले बढी हो । बुधबार ८६ करोड १३ लाख रुपैँयाको शेयर कारोबार भएको थियो । नेप्से परिसूचक पनि ६.५३ अंकले बढेर १४६४.९१ अंकमा पुगी विहिबारको कारोबार बन्द भएको छ ।
विहिबार स्टान्डर्ड चार्टर्ड बैँकको मात्रै १७ करोड ७३ लाख ९८ हजार ६ सय ७१ रुपैँयाको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको ६ करोड १० लाख ८२ हजार ६ सय ९८ रुपैँयाको कारोबार भएको छ । ३ करोडमाथिको कारोबार गर्ने कम्पनिहरुमा नेपाल बंगलादेश बैँक, एभरेष्ट बैँक, नेपाल बैँक र छिमेक लघुवित्त विकास बैँक छन् भने एभरेष्ट इन्स्योरेन्स, सिटिजन बैँक, नेशनल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैँक लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ ।
तारागाउँ रिजेन्सी होटेलका लगानीकर्ताले विहिबार सबैभन्दा धेरै १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने तिनउ विकास बैँकका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । पश्चिमाञ्चल फाइनान्स, स्वरोजगार लघुवित्त विकास बैँक, साझा विकास बैँक, सिनर्जी फाइनान्स, नयाँ नेपाल लघुवित्त विकास बैँक लगायतले पनि धेरै कमाएका छन् ।
गुमाउने कम्पनिहरुको अग्रस्थानमा मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन रहेको छ जसको शेयर मूल्य ६.७२ प्रतिशतले घटेको छ । नागबेली लघुवित्त विकास बैँक, सप्तकोशी डेभलपमेन्ट बैँक, गण्डकी विकास बैँक, सांग्रीला डेभलपमेन्ट बैँक, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम, अल्पाइन डेभलपमेन्ट बैँक लगायतले पनि गुमाएका छन् ।
विहिबार कारोबार भएका समूहहरुमध्ये अन्य समूह स्थिर रहेको छ भने बाँकी सबै समूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै वीमा समूह १११.८४ अंकले बढेको छ भने जलविद्युत्, होटल, विकास बैँक, फाइनान्स र वाणिज्य बैँक समूह क्रमशः ९.७४, ८.०६, ७.९९, ५ र २.३२ अअंकले बढेका छन् ।