२०७४ भाद्र ३१ गते

सात वाणिज्य बैंक : कुनका सेयरधनीले पाउने भए कति बोनस ?

सात वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर घोषणा गरेका छन् । जसमध्ये, पाँच वटा बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याउनका लागि बोनस सेयर जारी गर्न लागेका छन् । 

एनआईसी एशिया बैंक लिमिटेडको शुक्रबार सम्पन्न २०औं वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ । जसअनुसार, बैंकले गत आर्थिक वर्षको कमाईबाट एक अर्ब ३३ करोड ८५ लाख १९ हजार पाँच सय रुपैयाँ बराबरको बोनस सेयर र सात करोड चार लाख४८ हजार तीन सय ९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । 

सनराइज बैंक लिमिटेडका सेयरधनीले १५ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । बैंकले लिलामीमा निकालेको हकप्रद सेयर सकार्नेले पनि उक्त बोनस सेयर प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकको विहीबार बसेको संचालक समितिको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई साधारणसभाले पारित गर्न बाँकी रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बोनस सेयर वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्न राष्ट्र बैंकको स्वीकृति पाएको हो । कर प्रयोजनका लागि बैंकले ०.८५ प्रतिशत नगद लाभांश समेत दिनेछ ।
बैंकको आगामी साधारणसभाले पारित गरेपछि बोनस सेयर वितरण गरिनेछ ।  

नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । सात अर्ब २१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको ३०९ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 

सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिद्धारा प्रस्तावित उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । 

प्रस्तावित बोनस सेयर जारी गरेपछि यी पाँच बैंकको चुक्तापुुँजी राष्ट्र बैंकको निर्देशनअनुरुप आठ अर्ब नाघ्नेछ । दुई वटा बैंकले भने चुक्तापुँजी आठ अर्ब माथि हुँदा पनि लगानीकर्ताका लागि आकर्षक लाभांश प्रस्ताव गरेका छन् । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका सेयरधनीले १५ प्रतिशत बोनस सेयर २५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।बैंकको चुक्तापुँजी नौ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्व ८८ करोड रुपैयाँ पुग्ने छ ।