हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता दशैँका लागि नयाँ नोट सटही सुरु भयो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
नयाँ नोट सटही सुरु
दशैँका लागि नयाँ नोट बुधबारदेखि साट्न थालियो । एको छ । नयाँ नोट साट्नका लागि विहानैदेखि राष्ट्र बैंक लगायत अन्य निजी तथा सरकारी बैंकहरुमा सर्वसाधारणको घुइँचो लागेको छ । सर्वसाधारणले पहिलेको भन्दा यसपाली पैसा साट्न सहज भएको महशूस गरेका छन् । यसपालीदेखि सरकारी बैंकहरुले समेत पैसा साटिदिने भएकाले बैंकहरुमा भीड तुलनात्मक रुपमा कम देखिएको छ ।
१० रुपैयाँको नयाँ नोट बजारमा
नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नोट नयाँ डिजाइनमा निकाल्यो । राष्ट्र बैंकले संकेत नं. ठ।४१०००००१ देखि ढ।१००९९९९९९ सम्मको नोट निष्काशन गरेको हो । नोटको अगाडि भागमा बायाँतिर सगरमाथाको चित्र छ भने मध्य भागको पृष्ठभूमिमा गरुण नारायणको चित्र रहेको छ भने दायाँतिर लालीगुराँसको पानी छापका साथै तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको हस्ताक्षर रहेको छ । तल्लो भागको बायाँ र दायाँतिर संकेत नम्बर हुन्छ र तल्लो भागको वोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा विं. सं. २०७३ लेखिएको छ । नोटको अर्को पट्टी माथिल्लो बीच भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा एउटा कृष्णसारको चित्र रहेको छ । मध्य भागको पृष्ठभूमि फिक्का हरियो रङको बनाइएको छ । साथै नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज टेन लेखिएको छ भने नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर अंग्रेजीमा २०१७ एडी लेखिएको छ । दशैँका लागि नयाँ नोट साट्नेहरुले नयाँ डिजाइनको १०को नोट पाएका छन् ।
अर्का एटीएम ह्याकर प्रहरीको फन्दामा
एटिएमबाट अवैध रुपमा रकम निकालेको आशंकामा एक विदेशी नागरिक पक्राउ परे । ठमेल तथा दरबारमार्ग क्षेत्रहरुका विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट रकम भुक्तानी गर्ने गिरोहमा सक्रिय रहेको भन्दै आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २३ वर्षका बुल्गेरियन नागरिकलाई काठमाडौँ ठमेल क्षेत्रमा पक्राउ गरेको हो । मिट्को स्तोनोभ मिथ्युभ नामका बुल्गेरियनलाई अबैध एटीएम कार्ड १२८ थान, नेपाली नगद चार लाख ४० हजार, अमेरिकी डलर २० तथा मोबाइल फोन १ थान, ल्यापटप १ थान र कार्डस्कीमर १ थान सहित पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।
राष्ट्र बैंकमा कर्मचारीहरुको धर्ना
नेपाल राष्ट्र बैंकले अवकाशका लागि ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन खोजेको भन्दै सोमबार युनियनको अगुवाईमा कर्मचारीहरुले गभर्नरको कार्यालयमा एक घण्टा धर्ना दिए । कर्मचारी युनियन र बहुसंख्यक कर्मचारीको विरोधका वावजुद पनि राष्ट्र बैंक व्यवस्थापनले तत्काल एकपक्षीय रुपमा विनियमावली संशोधन गर्न लागेको भन्दै कर्मचारीहरुले धर्ना दिएका हुन् । ३० वर्षे सेवा अवधिको प्रावधान हटाए दोस्रो चरणको आन्दोलन सुरु गर्ने कर्मचारीहरुले बताएका छन् । राष्ट्र बैंक व्यवस्थापनले कर्मचारीहरुको माग सम्बोधन हुने आश्वासन दिएको बताइएको छ ।
पाँच अर्बको विकास ऋणपत्र निष्काशन
राष्ट्र बैंकले शुक्रबार पाँच अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्यो । ११ वर्षे अवधिको उक्त ऋणपत्रको व्याजदर बोलकबोलको आधारमा निर्धारण गरिने र सावाँ २०८५ भदौ ३० गते फिर्ता गरिने बताइएको छ । उक्त ऋणपत्रको व्याज हरेक छ महिनामा पाइनेछ । उक्त ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दिन सकिने छ ।
अन्य,
- हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१७ वापतको पाँच लाख चार हजार रुपैयाँ दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गर्यो ।
- लुम्बिनी बिकास बैंक लिमिटेडले अन्र्तराष्ट्रिय बाल दिवसको अवसर पारेर विहीबार खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय, नारायणटारका अपाङ्ग बालबालिकाहरुलाई खाजा वितरण गर्यो ।
- सिद्धार्थ बैंकले भाद्र २९ गते बिहीबार काठमाडौँको पुतलीसडकस्थित सेयर मार्केट कमर्सियल कम्प्लेक्समा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्यायो ।
- सनराइज बैंक लिमिटेडलेले त्रिभूवन विश्वविद्यालयका एमबिएसमा अध्ययनरत छ जना शोधकर्ताहरुका लागि जनही ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्यो ।
- यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गरे ।
- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६२औं शाखा मकवानपुरको मनहरीमा समुद्घाटन गर्यो ।
- बजार मागलाई मध्यनजर गर्दै मेक्स नेपालले अप्सन कारोबारका लागि आईओएस संस्करण बजारमा ल्यायो ।
- हिमालयन बैंक लिमिटेडले आफ्ना विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गर्यो ।
- लुम्बिनी बिकास बैंक लिमिटेडले चितवनको पर्साढापमा नयाँ शाखा स्थापना गर्यो ।
- स्वरोजगार लघुबित्त बिकास बैक शाखा कार्यालय सिमरीको आयोजनामा ३ दिने च्याउ खेती तालिम नवलपरासीको प्रतापपूरस्थित सिमरीमा सुरु भयो ।
- रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनियताको सपथ लिए ।
- निर्धन उत्थान बैंक लिमिटेडले गत २०७४ श्रावण २८ गते आएको भिषण बाढीेमा परी जनधनको क्षति ब्यहोरेका पिडित परिवारहरुलाई राहत वितरण गर्यो ।
- गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकैदिन पाँच वटा शाखा विस्तार गर्यो ।