२०७४ भाद्र २७ गते

उत्पादन क्षेत्रमा वित्त कम्पनीको लगानी १३ प्रतिशत

कृष्ण रिजाल / उत्पादनमूलक क्षेत्रमा ‘ग’ वर्गका वित्तीय संस्थाको लगानी झन्डै १३ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७३(७४ मा वित्त कम्पनीले कुल ४३ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये १२।९६ प्रतिशत कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । वित्त कम्पनीहरूले आफ्नो कुल कर्जाको कम्तीमा १० प्रतिशत लगानी प्राथमिकताका क्षेत्रमा गर्नुपर्ने प्रावधान रहेको छ । समीक्षा आवमा वित्त कम्पनीहरूले औसतमा तोकिएको क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा पूरा गरेका हुन् । यस्तो कर्जा तोकिएको क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटन र घरेलु तथा साना उद्योग पर्छन् । हाल नेपालमा २८ वटा वित्त कम्पनी रहेका छन् । यसमध्ये ९ वटा वित्त कम्पनी समस्याग्रस्त अवस्थामा छन् । बाँकी १९ वटा कम्पनीले तोकिएको क्षेत्रमा ५ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ प्रवाह गरेका हुन् । समीक्षा अवधिमा वित्त कम्पनीहरूले कुल ५० अर्ब ६ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

२ कम्पनीले सीमा पूरा गरेनन्
उत्पादनमूलक क्षेत्रमा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको प्रावधानलाई २ वित्त कम्पनीले पूरा गर्न सकेका छैनन् । समीक्षा अवधिमा युनाइटेड फाइनान्स र युनियन फाइनान्सले उत्पादनमूलक क्षेत्रमा १० प्रतिशत कर्जा प्रवाह गर्न नसकेको राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा युनाइटेड फाइनान्सले कुल ४ अर्ब ७४ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीले उत्पादनमूलक क्षेत्रमा भने ९।६७ प्रतिशत मात्रै कर्जा प्रवाह भएको छ । त्यस्तै, युनियनले यस अवधिमा ६५ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसमध्ये उत्पादनमूलक क्षेत्रमा २।८५ प्रतिशत मात्रै कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

खराब कर्जा घट्यो 
समीक्षा अवधिमा वित्त कम्पनीको औसत खराब कर्जा १।०८ प्रतिशत बिन्दुले घटेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा वित्त कम्पनीको खराब कर्जा ४।१४ प्रतिशत थियो । आव ०७३(७४ मा वित्त कम्पनीको खराब कर्जा ३।०८ प्रतिशत झरेको छ । समीक्षा अवधिमा सबैभन्दा बढी खराब कर्जा जनरल फाइनान्स र अरुण फाइनान्सको रहेको छ । दुवै वित्त कम्पनी हालै मात्र समस्याग्रस्तबाट फुकुवा भएका हुन् । जनरल र अरुणको खराब कर्जा क्रमशः ८४।९३ र ७०।१८ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम खराब कर्जा श्री इन्भेष्टमेन्टको ०।२५ प्रतिशत रहेको छ । आइसिएफसी, सिर्जना, युनाइटेड र गुहेश्वरीको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम रहेको छ।

सिसिडी रेसियो बढ्यो
वित्त कम्पनीहरूको औसत निक्षेप तथा पुँजीमा कर्जाको अनुपात बढेको छ । आर्थिक वर्ष ०७२(७३ मा वित्त कम्पनीको सिसिडी रेसियो ६६।७३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा आइपुग्दा सिसिडी रेसियो ७३।५१ प्रतशित रहेको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार