डा. चिरंजीबि नेपाल, गभर्नर
नेपालमा गरिबी हटाउनका लागि स्वर्गीय डा. हरिहरदेव पन्तको भूमिका महत्वपूर्ण रहेको छ । स्वर्गीय डा. पन्तले नेपालको गरिबी हटाउनका लागि १९९१ देखि अभियानको रुपमा चलाउनु भयो । हामीले वहाँलाई लघुवित्तको अभियान्ता भनेर चिन्छौं । गरिब नेपालीलाई धनी कसरी बनाउने भनेर अभियान नै चलाउनु भएकाले वहाँलाई कसैले पनि भुल्न सक्दैन । हरिहरदेव पन्त राष्ट्र बैंकमा काम गर्दा ताका नै प्रोत्साहन मिलेको थियो । वहाँले राष्ट्र बैंकबाट रिटायर्ड भएपछि लघुवित्त अभियान चलाउनु भएको हो ।
मुलुकको ग्रास लेभलमा बैंकिङ पहुँच र वित्तीय साक्षरता बढाउन स्वर्गीय पन्तको भूमिका अतुलनीय रहेको थियो । वित्तीय पहुँच एउटा ग्रास रुटमा पनि जान सक्ने बाटो स्वर्गीय पन्तले नै बनाइदिनु भएकाले त्यसकै आधारमा आज धेरै लघुवित्त खुलेका छन् जसले गरिबी हटाउनका लागि धेरै योगदान पुर्याएको हामीले महशुस गरेका छौँ । आज लघुवित्त र गरिबी न्युनिकरणको कुरा आउने वित्तिकै स्वर्गीय पन्तलाई सम्झिने गरिन्छ । वहाँले लिएको बाटोलाई हामी सबैले फलो गर्यौँ भने गरिबी न्युनिकरणमा महत्वपूर्ण योगदान पुग्ने छ ।
लघुवित्तहरुले गरिबी अन्त्यका लागि धेरै सहयोग पुर्याएका छन् । अत्यन्त विकट र दुर्गम ठाउँमा ७५ वटै जिल्लाका गरिब र विपन्न वर्गमा लघुवित्तहरुले ठूलो योगदान दिँदै आएका छन् । यद्यपि, कतिपय लघुवित्तहरुले अप्ठेरो परिस्थिती पनि सिर्जना गरेका छन् । एउटै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिएर ऋणमा डुबेका पनि छन् । कतिपय ऋणको चपेटामा डुबेका छन् भन्ने कुरा समेत बाहिरिएको छ, जसलाई तत्काल हटाउनु जरुरी छ ।
ग्राहक संरक्षणकोष भनेर हामीले एउटा योजना ल्याएको छौं । मुलुकका धेरै ठाउँमा बैंक तथा वित्तीय संस्था पुग्न सकेका छैनन् । अत्यन्त दुर्गम ठाउँमा शाखा खोल्ने लघुवित्तहरुलाई हामी ४० लाख रुपैयाँ निव्यार्जी कर्जा प्रवाह गर्छौँ । लघुवित्तहरु शहर बजार केन्द्रीत नहुन् भन्ने उद्देश्यले हामीले यस्तो व्यवस्था गरेका हौँ । यो व्यवस्गाले वित्तीय साक्षरता बढाउनमा पनि मद्दत गर्ने हाम्रो अपेक्षा छ । यसका लागि सबै स्थानीय बैंक तथा वित्तीय संस्थाहरु ग्रामीण भेगमा जानुपर्र्छ । अहिले बैंकहरु नपगेको स्थानीय तह १६५ वटा छन् । त्यहाँ पनि बैंक जानुपर्छ । बैंक नपुगेका अन्य विकट क्षेत्रमा लघुवित्त संस्था जानुपर्छ ।
अहिले हामीले लघुवित्तका लागि लाइसेन्स दिन बन्द गरेका छौँ । अहिले लघुवित्तहरुको संख्या ५३ छ । नयाँ लाइसेन्स बन्द गरेर पुरानालाई नै सेवा विस्तारमा प्रोत्साहन गर्ने हाम्रो रणनीति छ । तर, हामीले लाइसेन्सका लागि नयाँ निवेदन दिन बन्द गरेपनि पहिले नै आवेदन दिइसकेकालाई अनुमति दिँदा लघुवित्त संस्थाहरुको संख्या बढ्नेछ । यसले भोलिका दिनमा लघुवित्तहरुबीचमा अस्वस्थ प्रतिष्पर्धा जन्काउन सक्छ, जसको समाधानका लागि मर्जर÷एक्विजिशनको बाटो जान सक्छौँ ।
लघुवित्तबाहेक क, ख र ग वर्गका बैंकहरुलाई दिइएको पुँजीवृद्धिको निर्देशनका कारण दुई वर्षमा १५० वटा संस्था मर्जरमा गएका छन् । जसबाट ११२ वटा संस्थाको नाम नै खारेज भएर ३६ वटा संस्था कायम भएका छन् । मर्जरको प्रक्रिया अझै पनि चलिरहेको छ । मर्जरको व्यवस्थाले बैंकहरुको क्षमताका साथै दायरा पनि बढिरहेको छ । साथमा शाखा र लगानी गर्ने क्षमता पनि बढेको छ । बैंकहरुले शाखा विस्तारमा जोड दिएसँगै केही वर्षअघिसम्म ८० प्रतिशत भुभागमा बैंकिङ पहुँच पुगेकोमा अहिले ८० प्रतिशत पुगेको छ । अबको केहि बर्षभित्रै शतप्रतिशत ठाउँमा बैंकिङ पहुँच पुर्याउने हाम्रो योजना छ । हामीले वित्तीय साक्षरताको माध्मबाट सबै नागरिकलाई बैंकिङ ज्ञान दिने योजना संचालन गरिरहेका छौं । (स्व. हरिहरदेव पन्तको वार्षिक पुण्यतिथिमा आयोजित कार्यक्रममा व्यक्त बीचारमा आधारीत)