२०७४ भाद्र २४ गते

नेपालका १९ सहकारी मात्र एसियाली मापदण्डभित्र

नेपालका १९ सहकारी एसियाली मापदण्डमा पूरा गरेका छन् । एसियाली ऋण महासंघले गरेको मूल्यांकनमा २२ उत्कृष्ट सहकारीमध्ये नेपालका मात्र १९ वटा छन् । एसियाभरका सहकारीहरू सहभागी भएकोमा एक्युले गरेको सूक्ष्म परीक्षणमा एसियाली मापदण्ड–२०१७ मा यी संस्थाले प्राप्त गरेका छन् । उत्कृष्ट सहकारीमध्ये नेपालका ४ वटाले एक्सेस सिल्भर ब्रान्ड प्राप्त गरेका छन् भने १५ वटाले एक्सेस ब्रोन्ज प्राप्त गरेका छन् । 

एक्सेस सिल्भर ब्रान्ड प्राप्त गर्ने सहकारीहरूमा काभ्रेपलाञ्चोकको विन्धाबासिनी बचत तथा ऋण सहकारी संस्था(साकोस), दोलखाको जनसचेतन साकोस, भक्तपुरको शुभकामना साकोस र काभ्रेपलाञ्चोककै सामुदायिक साकोस छन् । सिल्भर मापदण्डमा पुगेको नेपालका पहिलो सहकारी हुन् । एक्युले गरेको परीक्षणमा एसियाभरका २२ वटा सहकारी मात्र एसियास्तरका मापदण्ड प्राप्त गर्न सफल भएका हुन् । अन्य सहकारीमा फिलिपिन्सको १ सहकारीले सिल्भर र अर्कोले ब्रोन्ज प्राप्त गरेका छन् भने इन्डोनेसियाको एक सहकारीले ब्रोन्ज प्राप्त गरेको छ ।

नेपालका एक्सेस ब्रोन्ज प्राप्त गर्ने सहकारीहरूमा नवलपरासी किसान, विकू र गैंडाकोट स्वाभिमान साकोस, ललितपुरका कल्याणकारी र स्कोप साकोस, दोलखाको हाम्रो जनकल्णयाण र मिलीजुली साकोस, भक्तपुरको सिद्धीगणेश, उपकार, श्रीबाराही साकोस रहेका छन् । सुनसरीको किसान कल्याण र महिला साकोस रहेका छन् । मोरङको इटहरा र मनकामना साकोस रहेका छन् । काभ्रेपलाञ्चोकको बुडोल सामुदायिक साकोसले पनि ब्रोन्ज एक्सेसमा निरन्तरता पाएको छ । 

एसियाली ऋण महासंघले सहकारी संस्थाका सदस्यहरूलाई गुणस्तरीय तथा सुरक्षित वित्तीय सेवाका साथै प्रभावकारी कार्यालय सञ्चालनका आधारमा मूल्यांकन गरेको हो । दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले नेपालका १९ सहकारीमध्ये ३ वटा सहकारी दोलखाका सहकारीले अन्र्तराष्ट्रिय ब्राण्ड आउनु आफैंमा गौरवको कुरा भएको बताए । 

पहिलो पटक एक्सेस ब्रोन्ज प्राप्त गर्न सफल दोलखाको मिलीजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठले ब्राण्ड पाएकोमा संस्थालाई एउटा स्तरमा पु¥याए तापनि अब त्यसलाई निरन्तरता दिनु चनौतीपूर्ण हुने बताए । दोलखाका ५ सहकारी संस्थाहरू नेफ्स्कुनले सञ्चालन गरेको राष्ट्रियस्तरको प्रोव्यासन कार्यक्रममा पनि सहभागी छन् । दोलखामा ५ सय १२ वटा सहकारीमा १ लाखभन्दा बढी सेयर सदस्यहरूको ५ अर्बको पुँजी पुगेको छ । कारोबार दैनिकमा प्रकाशित समाचार