बैंकिङ खबर / सरकारले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि ल्याएको शैक्षिक कर्जाको विजोग भएको छ । ऋण तिर्ने आधार नभएको भन्दै यस्तो कर्जा दिन बैंकहरु नै इच्छुक नभएपछि यस्तो कर्जाको विजोग भएको हो । सरकारले खास गरी युवा वर्गलाई लक्षित गर्दै ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन बैंकहरुले नै चासो नदेखाउँदा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई राहत पुग्न सकेको छैन । सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । तर सरकारको सरकारले घोषणा गरेर मात्र नहुने ,कर्जा तिर्ने ग्यारेन्टी चाहिने भन्दै बैंकहरुले यस्तो कर्जा दिन अस्वीकार गरे । जसरका कारण शैक्षिक प्रमाणपत्र धितो राखी ऋण पाउन विधार्थीलाई निकै समस्या भयो । डाक्टर,इन्जिीनियर,पाइलट जस्ता विषय पढ्नेले केही मात्रामा पाएपछि अरु विषय पढ्ने विद्यार्थी यस्तो कर्जाबाट लाभान्वित हुन सकेका छैनन् । सुन्दा राम्रो र राहत दिनेखालको देखिएपनि कार्यान्वयनको पाटो भने अन्यन्तै कमजो छ । राष्ट्र बैंकका अनुसार यस्तो सहुलियत दरको कर्जा प्रवाह भएकै छैन ।
राष्ट्र बैंकमार्फत कार्यान्वयन हुने भनिएको यस कर्जा कार्यक्रमबारे राष्ट्र बैंक स्वयम पनि बैंकहरुलाई प्रमाणपत्र धितो राखेर ऋण दिनका लागि दबाब दिन सकिरहेको छैन । राष्ट्र बैंकका प्रंवक्ता नारायण पौडेलले भने ‘शैक्षिक प्रमाणपत्र मात्र धितो राखेर ऋण दिन बैंकहरुलाई समस्या परेको छ । ’ बैंकहरुले चाहेमा यस्तो ऋण दिन रोकतोक नभएको तर यसमा धेरै कठिनाइहरु भएको प्रवक्ता पौडेलले जानकारी दिए । प्रमाणपत्र धितो विश्वासका लागि मात्र भएको र बैंकहरलाई साँवा र व्याज तिर्ने खालको ग्यारेन्टी यस कार्यक्रममा नभएकाले पनि लक्षित वर्गसम्म पु¥याउन नसकिएको प्रवक्ता पौडेलले बताए ।
कर्जा लगानी गरेपछि त्यसको सावाँ र व्याज तिर्न सक्ने आधार बैंकहरुलाई चाहिन्छ । तर यस शैक्षिक कार्यक्रममा बैंकको ऋण असुल उपर गर्ने कुनै आधार नभएकाले बैंकहर यस्तो खालको ऋण दिन इच्छुक छैनन् । त्यतिमात्र होइन यस्तो खालको कर्जा लिने विद्यार्थीले कुन विषय पढ्ने तथा यस्तो कर्जा लिदां प्रयोजन खुलाउनुपर्ने बैंकहरुको भनाई छ । बैंकर्स संघका अध्यक्ष तथा मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह यस्तो कर्जा लिनेको भिजन क्लियर हुनुपर्नेमा जोड दिन्छन् । उनले भने ‘ यस्तो कर्जा लिनेको प्रोजेक्ट क्लियर हुनुपर्छ । ’ यस खालको कर्जा दिंदा साँवा व्याज बैंकले तोकेको समयमा तिर्न सक्ने अवस्था छ कि छैन भन्ने आधार बैंकहरुलाई आवश्यक पर्ने शाहको भनाई छ । यस खालको कर्जा पनि अरु विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जा अनुसार नै प्रवाह हुने भएकाले आश्यक प्रकृया पु¥यानुपर्नेमा शाहले जोड दिए । त्यस्तै,कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले भने,‘ स्पष्ट मोडालिटी नै छैन,कसरी कर्जा दिने ?’ हालसम्म कृषि विकास बैंकमा त्यस्तो कर्जाको माग नआएकाले पनि वितरण नभएको प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताए । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने काम बैंक तथा वित्तीय संस्थाहरुको पहुँच भन्दा बाहिर भएकाले यस्तो खालको कर्जा दिन समस्या परेको बैकर्स बताउँछन् । बैंकहरुले कर्जा लगानी गरेपछि क्यास फ्लो हुने गरी लगानी गर्न चाहान्छन् ।
तर व्याज त के सावाँ पनि असुल उपर गर्न सक्ने आधार नभएको ठाउँमा लगानी गर्न बैंकहरु पटक्कै इच्छुक छैनन् । स्पष्ट कार्यविधीको अभावमा यस्तो कर्जा वितरण प्रभावहिन भएको उनीहरु बताउँछन् । एनएमबी बैंकले पनि विना धितोको शैक्षिक कर्जा उपलब्ध गराएको छैन । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने,‘जनचेतनाका कमीका कारण यो कर्जा प्रभावित भएको छ ।’ अहिलेसम्म यस बैंकमा पनि यस्तो शैक्षिक कर्जाको माग नआएको प्रमुख कार्यकारी अधिकृत केसीले बताए । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने काम बैंक तथा वित्तीय संस्थाहरुको पहुँच भन्दा बाहिर भएकाले यस्तो खालको कर्जा दिन समस्या परेको बैकर्स बताउँछन् । बैंकहरुले कर्जा लगानी गरेपछि क्यास फ्लो हुने गरी लगानी गर्न चाहान्छन् । सरकारले बेला बखतमा ल्याउने गरेका सहुलियत दरका ऋण संबन्धी योजनाहरु प्रायः असफलतर्फ उन्मुख छन् । उचित अध्ययन विना ल्याइएका यस्ता ऋण संबन्धी योजनाहरु सुन्दा राम्रो लाग्ने भएपनि कार्यान्वयन प्रभावकारी नहुनेमा विज्ञहरुले जोड दिएका छन् ।