पाँच वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर दिने घोषणा गरेका छन् । नेपाल यन्भेष्टमेन्ट बैंकबाहेक, चार वटा बैंकले बोनस सेयर जारी गरेर आठ अर्ब चुक्तापुँजी पुर्याउन लागेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको भुक्तापुँजी आठ अर्ब पुगिसकेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बोनस सेयर वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्न राष्ट्र बैंकको स्वीकृति पाएको हो । कर प्रयोजनका लागि बैंकले ०.८५ प्रतिशत नगद लाभांश समेत दिनेछ । गत आर्थिक वर्षमा एक अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थिया बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि सिटिजन्स बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । बैंकको आगामी असोज ९ गते हन लागेको ११ औँ साधारणसभाले पारित गरेपछि बोनस सेयर वितरण गरिनेछ । भदौ ११ गतेसम्म कायम सेयरधनीले उक्त बोनस सेयर पाउनेछन् ।
यता, सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको गत शुक्रबार बसेको संचालक समितिको वैठकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । असार मसान्तसम्मको विवरणअनुसार, सानिमा बैंकको चुक्तापुँजी छ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । गत आर्थिक वर्षमा एक अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको जगेडाकोषमा दुई अर्ब १६ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा रहेको छ भने निष्कृय कर्जा शून्य दशमलव ०१ प्रतिशत रहेको छ ।
एनआइसी एशिया बैंक लिमिटेडले भदौ ३० गतेका लागि बीसौँ साधारणसभा डाकेको छ । साधारणसभामा बैंकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । साधारणसभा प्रयोजनका लागि बैंकले भदौ १६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गरेको छ । जसअनुसार, भदौ १५ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित बोनस सेयर पाउनेछन् । गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको चुक्तापुँजी छ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरण गरेपछि एनआईसी एसिया बैंकको चुक्तापुँजी आठ अर्ब दुई करोड रुपैयाँ पुग्नेछ ।
नबिल बैंक लिमिटेडले आगामी असोज १० गते ३३ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले उक्त साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश गरी ४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सार्ने भएको छ । साधरणसभा र लाभांश प्रयोजनको लागि बैंकको भदौ २७ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । जसअनुसार, भदौ २६ गतेसम्म कायम बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् । गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको नविल बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड रुपैयाँ रहेृको छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख रुपैयाँ पुग्नेछ ।
गत आर्थिक वर्षमा नै आठ अर्ब चुक्तापुँजी पुर्याइसकेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका सेयरधनीले पनि १५ प्रतिशत बोनस सेयर २५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । गत आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकले तीन अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्तापुँजी नौ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।