बुधबार नेपाल स्टक एक्सचेन्जमा ८६ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २९ वटा कम्पनिको १३ लाख ४४ हजार ६ सय ८८ कित्ता शेयर ३ हजार ६ सय ३७ पटक खरिदविक्रि हुँदा कुल ८६ करोड १३ लाख ५९ हजार ८ सय १३ रुपैँया बराबरको काराबार भएको हो । कारोबारमंगलबारको तुलनामा कम हो । मंगलबार झण्डै १ अर्बको शेयर कारोबार भएको थियो । मंगलबार घटेको नेप्से परिसूचक बुधबार भने ५.२७ अंकले बढेर १४५८.३८ अंकमा पुगेर बन्द भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको सबैभन्दा धेरै १० करोड ३५ लाख ११ हजार ३ सय १० रुपैँयाको शेयर कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैँकको ६ करोड ३३ लाख ६३ हजार १ सय ९ रुपैँयाको शेयर कारोबार भएको छ । ३ करोडमाथिको शेयर खरिदविक्रि गर्ने कम्पनिहरुमा एनबी बैँक, एनएमबी बैँक, नेशनल हाइड्रोपावर कम्पनि, नेपाल बैँक र एभरेष्ट बैँक रहेका छन् भने नविल बैँकको प्रोमोटर शेयर, नेपाल लाइफ इन्स्योरेन्सको प्रोमोटर शेयर, छिमेक लघुवित्त विकास बैँक लगायतको २ करोडमाथिको कारोबार भएको छ ।
बुधबार धेरै कमाउने कम्पनिको अग्रस्थानमा नागबेली लघुवित्त विकास बैँक रहेको छ जसको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने कसमस डेभलपमेन्ट बैँकको शेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ । तारागाउँ रिजेन्सी होटल, स्वाबलम्बन विकास बैँक, निर्धान उत्थान विकास बैँक, साझा विकास बैँक, लुम्बिनी फाइनान्स, प्रोग्रसिभ फाइनान्, जानकी फाइनान्स लगायतले पनि धेरै कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैँकका लगानीकर्ताले ९.९८ प्रतिशतले गुमाएका छन् । युनिक फाइनान्स, सहयोगी विकास बैँक लगायतले पनि बुधबार गुमाएका छन् । सबैभन्दा धेरै शेयर कारोबार भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका लगानीकर्ताले २ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् ।
होटल, जलविद्युत् र फाइनान्स समूहले ओरालेको बुधबारको शेयर बजारलाई वाणिज्य बैँक, विकास बैँक र विमा समूहले सम्हालेका छन् । सबैभन्दा धेरै विमा समूह ४८.२८ अंकले बढेको छ भने विकास बैँक र वाणिज्य बैँक क्रमशः १८.८९ र ५.१९ अंकले बढेका छन् । होटल समूह सबैभन्दा धेरै ४७.८ अंकले घट्दा जलविद्युत् र फाइनान्स समूह क्रमशः ८.२१ र ७.२३ अंकले घटेका छन् भने अन्य समूह स्थिर रहेको छ ।