रोयल आचार्य – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले संघीय संरचना अनुसार निर्माण भएका सबै स्थानीय तहमा बैंक शाखा पुग्ने बताएका छन् । बुधबार ‘डा. हरिहरदेव पन्त दोस्रो स्मृति दिवस’का अवसरमा निर्धन उत्थान बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले संघीय संचना अनुसार निर्माण भएका सात सय ५३ स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने राष्ट्र बैंकको नीति रहेको बताए । ‘वित्तीय साक्षरता तथा वित्तीय पहुँच दुबै बढ्दै जाओस भन्ने राष्ट्र बैंकको योजना हो’ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले भने – ‘बैंक शाखा नपुगेका थुप्रै स्थानीय तहहरु छन् । त्यहाँ जसरी पनि बैंक शाखा पुर्याउने हाम्रो लक्ष्य छ ।’
कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले विकट क्षेत्रमा शाखा खोल्ने लघुवित्तलाई राष्ट्र बैंकले बिशेष प्राथमिकतामा राखेको र विकट क्षेत्रमा शाखा खोल्ने लघुवित्तलाई ४० लाख रुपैयाँ निव्र्याजी ऋण दिने व्यवस्था गरेको जानकारी दिए । मुलुकको गरिबी न्युनिकरणमा लघुवित्तको महत्वपूर्ण योगदान रहेको भन्दै उनले निर्धन उत्थान बैंकका संस्थापक डा. हरिहरदेव पन्तको योगदानबारे प्रशंसा समेत गरे ।
स्वर्गीय डा. पन्तको दोस्रो स्मृति दिवसका अवसरमा निर्धन उत्थान बैंकले आयोजना गरेको कार्यक्रममा डा. हरिहरदेव पन्त स्मृति ग्रन्थ लोकार्पण समेत गरिएको छ । स्वर्गीय पन्तका जीवनी, स्वर्गीय पन्तबारे विभिन्न व्यक्तिहरुले लेखेको लेख, स्वर्गीय पन्तको अन्तरवार्ता तथा पन्तको फोटो ग्यालरी समेत समेटिएको पुस्तक कार्यक्रममा लोकार्पण गरिएको हो ।
कार्यक्रममा डा. हरिहरदेव पन्त एकेडेमिक एक्सिलेन्स पुरस्कार, डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार तथा लघुउद्यमशील पुरस्कार समेत वितरण गरिएको थियो । निर्धन उत्थान बैंकद्वारा सञ्चालित ५० हजार राशीको डा. हरिहरदेव पन्त एकेडेमिक एक्सिलेन्स पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र बिषयमा स्नातकोत्तर तहमा शैक्षिक शत्र २०६९/७० मा प्रथम स्थान हासिल गर्ने धर्मेन्द्र तिमल्सिना र सोहि शैक्षिक शत्रमा ग्रामिण विकास बिषयमा स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरेका मिलन बगालेलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा आर्थिक पत्रकारहरुको साझा संस्था आर्थिक पत्रकार समाज (सेजन) लाई २५ हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी, लघुउद्यमशील पुरस्कारबाट बाख्रापालनबाट उद्यमशील बनेकी सिरहा जिल्लाकी कौशिला माया सुनुवार, अगरवत्ति उद्योगबाट उद्यमशीलता हासिल गरेकी गीता परियार र काँकेकी चन्द्रा लामिछानेलाई १० हजार राशीको पुरस्कारबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबरा, पूर्व गभर्नर गणेश बहादुर थापा, पूर्व गभर्नर विजयराज भट्टराई लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
