रोयल आचार्य । गरिमा विकास बैंकले प्रदेश नम्बर एकमा १० वटा कार्यालय स्थापना गर्ने भएको छ । तीन जिल्लेबाट राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल गरिमाले चालु आर्थिक बर्षको पुष मसान्तभित्रै प्रदेश नम्बर एकको झापा, मोरङ र सुरनसरीमा १० वटा शाखा कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।
चालु आर्थिक बर्षको पुष महिनाभित्र प्रदेश नम्बर १ मा क्षेत्रीय कार्यालय सहित १० वटा शाखा कार्यालय स्थापना गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए । ‘गरिमा राष्ट्रिय स्तरको विकास बैंक भएको कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शाखा सञ्जाल विस्तार गर्ने हाम्रो लक्ष्य छ ।’ बैंकिङ खबर डटकमसँगको कुराकानीमा प्रमखु कार्यकारी अधिकृत ढकालले भने– ‘ पूर्वका झापा, मोरङ र सुनसरीमा १० वटा शाखासहित क्षेत्रीय कार्यालय स्थापना गर्ने योजना अघि बढाएका छौँ ।’ ढकालले पूर्वका बैंक तथा वित्तीय संस्थासँग मर्ज गरेर जाने भन्ने सोचमा भएको भए पनि अहिलेसम्म कुनै बैंक वित्तीय संस्थासँग मर्ज गर्ने सहमति हुन नसकेको बताए ।
पूर्वका साथसाथै पश्चिममा नेपालगञ्ज, धनगढी लगायतका ठाउँमा पनि शाखा विस्तार गरिने सीईओ ढकाललको भनाई थियो । ‘अहिले हाम्रा ५० वटा शाखा कार्यालयहरु छन्, अब थप १५ वटा शाखा आगामी पुष महिनाभित्रै सञ्चालन गर्ने हाम्रो योजना छ’ उनले भने ‘१५ शाखा थप गरेपछि गरिमाको उपस्थिती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्नेछ ।’
वणिज्य बैंक बन्ने लक्ष्य
स्याङ्जा जिल्लाको वालिङमा ३ जिल्ले विकास बैंकको रुपमा स्थापना भएको गरिमा विकास बैंक अहिले एक अब्बल राष्ट्रिय स्तरको विकास बैंकको रुपमा परिचित छ । गरिमा विकास बैंकलाई आगामी दिनमा वाणिज्य बनाउने लक्ष्य लिएको सीईओ ढकालले बताए । ‘हामी छोटो समयमा तिन जिल्लेबाट राष्ट्रिय स्तरको विकास बैंक बन्यौँ, अहिले हामी विकास बैंकहरुमध्ये अग्रणी भूमिकामा नै छौं,’ बैंकिङ खबरसँग सीईओ ढकालले भने – ‘बैंकका संस्थापक, सेयर होल्डर, बैंक व्यवस्थापन कर्मचारी सबैको सोचाई वाणिज्य बनाउनुपर्छ भन्ने छ । त्यसर्थ हाम्रो अन्तिम लक्ष्य भनेको वाणिज्य बैंक बन्ने नै हो ।’ अहिले वाणिज्य बैंक बनाउने सोचले नै बैंकको संरचना निर्माण गरिरहेको उनको भनाई छ ।