नेपाल धितोपत्र बोर्डले सेयर आवेदन दिन चाहेको रकम आवेदककै बैंक खातामा ‘लक’ भएर बस्ने र बाँडफाँडपछि परेको सेयरको मात्र पैसा तान्ने (आवेदकको खाताबाट मर्चेन्ट बैंकको खातामा परेको सेयरबापतको रकम झिक्ने) व्यवस्था गर्ने भएको छ । कानुनविपरीत पैसा परिचालन गर्ने प्रवृत्ति नियन्त्रण गर्नका लागि यस्तो व्यवस्था गर्न लागिएको हो । यस व्यवस्था अन्तर्गत बोर्डले साधारण सेयर खरिद आवेदन दिएका सर्वसाधारणको पैसा उनीहरूकै खातामा रहनेछ । यस व्यवस्थासँगै, मर्चेन्ट बैंकरले अब सर्वसाधारणको पैसा गैरकानुनी ढंगले उपयोग गरी आम्दानी गर्न नपाउने भएपछि मर्चेन्ट बैंकरको आम्दानी घट्ने भएको छ ।
यसरी कमाउँछन् मर्चेन्ट बैँकरहरु
हाल, साधारण सेयरको खरिद आवेदनसँगै आएको पैसा बाँडफाँड नहुँदासम्म बैंकमा ‘ब्लक’ गरेर राख्नुपर्ने कानुनी व्यवस्था रहेकोमा मर्चेन्ट बैंकरले सेयर बाँँडफाँड नहुँदासम्म आवेदकको पैसा विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा गरेर ब्याज खाँदै आएका थिए । धितोपत्र निष्कासन निर्देशिका २०६५ अनुसार साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्ने मर्चेन्ट बैंकरले सेयर बिक्री बन्द भएको ६ कार्यदिनभित्र सबै संकलन केन्द्रबाट पैसा जम्मा गरी नेपाल राष्ट्र बैंकमा ६ कार्यदिनका लागि राख्नुपर्छ । त्यसपछि सो रकम राष्ट्र बैंकबाट झिकेर तोकिएको निष्कासन बैंकमा राख्नुपर्छ । निष्कासन बैंकमा राख्दा प्राप्त हुने ब्याज आम्दानीमध्ये ८० प्रतिशत आवेदकले पाउँछन् भने २० प्रतिशत निष्कासनकर्ता कम्पनी तथा मर्चेन्ट बैंकरले बाँडेर लिन्छन् । सो २० प्रतिशत ब्याज आम्दानीको उपयोगबारे कुनै कानुनी व्यवस्था छैन । २ सय गुणासम्म आवेदन पर्ने प्राथमिक बजारमा बाँडफाँडका लागि ७५ दिन लाग्दा उल्लेख्य आम्दानी हुन्छ ।