२०७४ भाद्र १९ गते

महालक्ष्मीका सीईओ भट्टराईले दिए राजिनामा

रोयल आचार्य/बैंकिङ खबर
महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पदबाट राजिनामा दिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भट्टराईले बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट आगामी कार्तिक १ गतेदेखि लागु हुने गरी राजिनामा दिएको बताएका छन् । १ बर्षको छोटो अवधिमा २ वटा मर्जर सफलापूर्वक सम्पन्न गरी नेपाल कै नम्बर १ विकास बैंक बनाउन सफल भएकोमा आफू खुसी रहेको भन्दै भट्टराईले सहयोग गर्ने सबैलाई फेसवुक स्टाटस मार्फत धन्यवाद समेत दिएका छन् ।

समान दुई तहका बैंकहरु मर्ज भए पछि महालक्ष्मी विकास बैंकमा दुबै संस्थाभन्दा बाहिरको मान्छे ल्याउदा उपर्युक्त हुन्छ भन्ने सोेचाईले आफूले राजिनामा दिएको भट्टराईले बताए । ‘राम्रो गर्न खोज्दा, तेरो मेरो भन्ने आइहाल्छ’ बैंकिङ खबरसँगको कुराकानीमा भट्टराईले भने– ‘बैंकमा नयाँ मान्छे ल्याउनु पर्छ भन्ने सोचेर राजिनामा दिएको हो ।’ सञ्चालकहरुसँग विवाद भएर राजिनामा दिनु भएको हो कि ? भन्ने बैंकिङ खबरको प्रश्नमा सीईओ भट्टराईले भने– ‘त्यस्तो केहि भएको छैन, मैले आफू बस्नु भन्दा पनि नयाँ मान्छे ल्याउनु पर्छ भन्ने ठानेर राजिनामा दिएको हूँ ।’ छोटो अवधिमा समान तहको बैंक सहित २ वटा मर्जर गर्न सफल भएको साथै ५ वटा वाणिज्य बैंक भन्दा बढी मूनाफा आर्जन गर्न सफल भएकोमा आफू सन्तुष्ट रहेको भन्दै उनले आफू बैंक भित्र वा बाहिर जहाँ भए पनि महालक्ष्मीसँगै हुने बताए । फाइनान्स हुँदै वलियो विकास बैंक बन्न सफल महालक्ष्मीको स्थापनाकालदेखि नै भट्टराईले नेतृत्व गर्दै आएका थिए । प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिए पनि भट्टराई बैंकको आगामी साधारणसभाबाट सञ्चालक बन्न सक्ने महालक्ष्मीका एक कर्मचारीले बताएका छन् ।

अब को बन्ला त महालक्ष्मीको सीईओ ?
प्रमुख कार्यकारी अधिकृत पदबाट भट्टराईले राजिनामा दिएसँगै महालक्ष्मी विकास बैंकको सीईओमा कैलास विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं विकास बैंकर्स संघका निवर्तमान अध्यक्ष कृष्णराज लामिछानेको चर्चा हुन थालेको छ । श्रोतका अनुसार लामिछानेलाई सीईओ बनाउन बैंकका केहि सञ्चालकहरुले छलफल समेत शुरु गरेका छन् । लामिछाने बाहेक महालक्ष्मीको सीईओ बन्न बैंकिङ क्षेत्रमा लामो अनुभव भएका अजय मिश्र, कुमारी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्याय र मेगा बैंकमा लामो समयसम्म काम गरेका श्रीचन्द्र भट्टको चर्चा चलेको छ । यि चार व्यक्ति मध्ये लामिछाने वा मिश्रको सीईओ बन्ने सम्भावना बढि रहेको श्रोतको दावि छ ।