२०७४ भाद्र १५ गते

हुन्डी कारोबारमा ट्राभल एजेन्सीहरुको संलग्नता

काठमाडौँमा ट्राभल एजेन्सीको नाममा हुन्डी कारोबार हुने गरेको पाइएको छ । हालै हुन्डी गर्न राखेको १२ लाख रुपैयाँ नगदसहित पक्राउ परेका अभियुक्तलाई राजस्व अनुसन्धान विभागले चार अर्ब १२ करोड बिगो कायम गरी मुद्दा दायर गर्ने तयारी गरेको छ । बिगोबराबर जरिवानाको माग दाबीसहित यही साताभित्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी विभागले गरेको छ । 

काठमाडौं प्रहरी परिसरले १५ महिनाअघि सुन्धाराको जेबो ट्राभल्समा छापा मारेर १२ लाख रुपैयाँ नगदसहित त्यहाँ काम गर्ने दलबहादुर पुन र लवकुमार नेपाललाई विभागमा बुझाएको थियो । पक्राउ परेका अभियुक्तद्वय धरौटीमा छुटे पनि लामो समयसम्म अनुसन्धान भएको थिएन । पछि विभागले रामप्रसाद रेग्मीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएपछि हुन्डी कारोबार गरेको प्रमाणित भएको थियो । यो ट्राभल्सका मालिक र हुन्डी कारोबारी धर्म गुरुङ र मिलन गुरुङ भने हालसम्म विभागको सम्पर्कमा आएका छैनन् । उनीहरुको कम्युटरमा पछिल्लो तीन महिनामा अस्ट्रेलिया, ब्रिटेनलगायत देशबाट रकम आएको र विभिन्न देशमा हुन्डीमार्फत पैसा पठाएको रेकर्ड भेटिएको बताइएको छ । 

जेबो ट्राभल्स मात्र हैन राजधानीका थुप्रै ट्राभल एजेन्सीहरुले हुन्डी कारोबारलाई आफ्नो धन्धा बनाएका छन् । हुन्डी अवैधानिक भएकाले ट्राभल एजेन्सीको नामबाट हुन्डीको कारोबार गर्नेहरु पछिल्लो समय निकै नै मौलाएका छन् । ट्राभल एजेन्सीहरुको सम्पर्कमा देश विदेशमा मानिसहरु रहने भएकाले उनीहरुले सहज रुपमा हुन्डीको कारोबार गर्दै आएका छन् ।

हुन्डी के हो ? कसरी गरिन्छ ?
सरकारद्धारा अनुमति नलिई गैरकानुनी ढंगबाट एक ठाउँबाट अर्को ठाउँमा वा एक देशवाट अर्को देशमा अनाधिकृत प्रक्रियाद्धारा रकम पठाउने माध्यमलाई हुण्डी भनिन्छ । यसमा मोबाइल नम्बर, नोट नम्बर, कुनै निश्चित कोडलाई आधार मानेर रकमको रकमान्तर गर्ने गरिन्छ । यो रकमान्तरको काम गराएबापत हुण्डीको काम गराउने ब्यक्तिले केही कमिशन लिने गर्दछ । उदाहरणको लागि, कुनै मान्छे वा ब्यापारीले नेपालको कुनै ठाउँबाट भारतको कुनै ठाउँमा रकम पठाउनुपर्यो भने सो ब्यक्तिले नेपालमा रहेको हुण्डीको काम गराउने ब्यक्तिनिर गएर पैसा बुझाएर एउटा गोप्य कोड प्राप्त गर्ने गर्दछ । त्यो रकम पठाउने ब्यक्तिले सो कोड भारतमा रहेको रकम पाउने ब्यापारीलाई जानकारी गराईदिने गर्दछ । भारतमा रहेको हुण्डी ब्यापारीले सो कोडको अधारमा त्यो रकम पाउने ब्यक्तिलाई पहिचान गरी रकमको भुक्तानी गर्ने गर्दछ । यो बीचमा दुवै हुण्डीको कारोबार गर्ने ब्यापारीहरु बीच सो कोडको गोप्य रुपमा आदानप्रदान भइसकेको हुन्छ । हाल आएर हुन्डीको विकल्पको रुपमा सुन तस्करी र गैरकानुनी विप्रेषन पनि प्रयोगमा आइरहेको सुनिन्छ ।

हुन्डी गैरकानुनी ब्यापार रहेकोले सो ब्यापारमार्फत आयातित बस्तुहरुको बास्तविक तथ्यांकमा आउन नसकी विदेशी नीति निर्धारण तथा कार्यान्वन्यनमा अपठ्यारो हुन्छ । न्युन विजिकरणको कारणले शुरुवात भएका यस्ता ब्यापारिक अपराधहरुले उत्पादन, वितरण, उपभोग तथा बैकिंग संयन्त्र जस्ता ब्यापारका सम्पुर्ण सञ्जालमा समेत नराम्ररी असर गरिरहेका हुन्छन् । आयातको पहिलो चरणमा समानको उचित मूल्याङ्कन हुन नपाएर कर चुहावट भई आर्थिक नोक्सानीको सुरुवात त्यहीँबाट हुन्छ । ब्यापारीलेसमान विक्रि वितरण गर्दा वास्तविक मुल्यमा नाफा जोडेर गर्ने तर सो विक्रीको भ्याट बिल नकाट्ने गरेको पाइन्छ । भ्याट बिल काटे पनि कम भन्सारको मूल्यांकनका कारण कम मुल्यमा काट्नाले भ्याट चुहावटमा देशलाई आर्थिक नोक्सानी हुन्छ । त्यसैले, हुन्डी कारोबारलाई जतिसक्दो छिटो रोक्नु आवश्यक छ ।