वित्तीय अनुशासन सबै व्यक्ति, संस्था तथा क्षेत्रमा अत्यावश्यक कुरा हो । सर्वसाधारण जनताको धनसम्पत्तिको सुरक्षाको जिम्मेवारी आफ्नो काँधमा लिने भएकाले बैंकिङ क्षेत्रमा वित्तीय अनुशासनको महत्व अलि बढी छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले आफू गभर्नर नियुक्त हुनेवित्तीय वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए । मुलुकमा वित्तीय अपराध मौलाइरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण र नियमन गर्ने विषयमा आफूले कसैलाई पनि नछोड्ने उनले बताएका थिए । वित्तीय क्षेत्र जनविश्वासमा चल्ने भएकाले जनताको विश्वास जित्ने गरी वित्तीय अपराध न्यूनिकरण गर्ने कुरालाई सदैव प्राथमिकतामा राख्ने उनले बताएका थिए । सोहीअनुरुप उनले बैंकिङ क्षेत्रमा कडाई पनि गर्दै आइरहेका छन् । उनले वित्तीय अनुशासन कायम हुनुपर्ने कुरालाई जोड दिँदै आएका छन् । गभर्नर डा. नेपालले वित्तीय अनुशासनमा बस्न नसक्ने मान्छे बैंकिङ क्षेत्रमा छिर्नु नहुने बताउँदै आएका छन् । ठूलो व्यापार गरेर पैसा कमाउने मात्रै उद्देश्य भएका व्यक्तिले बैंकिङ क्षेत्रमा प्रवेश गरेर जनताको पैसामाथि हिनामिना गर्न नहुने उनको भनाइ छ ।
हालै मात्र बैंकिङ कसुर अपराधअन्तर्गत नेपाल प्रहरीले नेपाल बैंक लिमिटेडमा कार्यरत ५ कर्मचारीसहित ११ जनालाई पक्राउ गर्यो । अनियमित एवं गैरकानुनी तवरले सुनकर्जा लिने–दिने कार्यगरी बैंकलाई १५ करोड ५१ लाख ४३ हजार ९ सय ५ रुपैयाँ ५७ पैसा हानी–नोक्सानी पुर्याएको भन्दै ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोको टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय, धरानमार्फत उच्च अदालत विराटनगरमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दायर गरेको छ । १ करोड बराबरको सुन धितो राखी १५ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका ६ जना व्यक्ति र मिलेमतोमा कर्जा दिने नेपाल बैंकका ५ कर्मचारीहरुलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
यसबाहेक, बैंकहरुमा अन्य विभिन्न तरिकाहरुबाट वित्तीय अनुशासन तोड्ने काम हुने गर्दछ । बैंकका कर्मचारीहरु नै यस्ता कार्यमा संलग्न हुने गर्दछन् ।
ग्राहकको खाताबाट पैसा निकाल्ने
कतिपय बैंकका कर्मचारीहरुले ग्राहकको एटीएमको पासवर्ड पत्ता लगाएर उनीहरुको एटीएमबाट रकम निकाल्दिने अथवा चेक बुकको मध्यमबाट पनि खाताबाट पैसा निकाल्दिने गर्न सक्छन् । बैंकमा विभिन्न प्रयोजनका लागि ग्राहकले आफ्नो विवरणहरु बुझाएका छन् । आफ्नो खाता नम्बर लगायत हरेक कुराको विवरण बैंकसँग हुन्छ । ग्राहकहरुले विश्वास गरेर आफ्नो सम्पूर्ण धनसम्पत्ति बैंकमा सुम्पेका हुन्छन् । बैंकका कर्मचारी भने त्यही पैसालाई आँखा लगाएर बसेका हुन्छन् ।
बैंकमा चोरी
कतिपय अवस्थामा, कर्मचारीहरुकै मिलेमतोमा बैंकमा चोरी समेत हुने गर्दछ । सबैलाई हिस्सा दिने गरी कुरा मिलाएर ठूला रकम चोरी गर्ने र कसैलाई थाहा नदिने गरी गुपचुप बस्ने काम पनि हुन्छ । यता, ग्राहकहरु आक्रोशमा आउने डरले बैंक मेनेजरले पनि खुला रुपमा सो कुरा उल्लेख गर्न सक्दैन । अन्ततः एकातिर, ग्राहकको पैसाको दरुपयोग हुन्छ भने अर्कोतिर बैंकले पनि ठूलो घाटा व्यहोर्नुपर्ने हुन्छ ।
कमिसनको लोभ
कमिसनको लोभ गर्ने व्यक्तिहरु पनि बैंकिङ जागीरका लागि सुहाउँदो मानिँदैनन् । बैंकका कुनै कर्मचारीहरु आफ्नो तलबबाट मात्र सन्तुष्ट नभएर अरु पैसा कमाउने उपाय तथा मौकाको खोजीमा हुन्छन् र सोझा ग्राहकहरुलाई फसाउँछन् । जग्गा, सुन जस्ता कुराहरुलाई महँगोमा धितो राखिदिने र सोवापत कमिसन लिने कार्य पनि बैंकहरुले गरिरहेका हुन्छन्, जुन वित्तीय अनुशासनविरुद्धको कार्य हो ।
घुसखोरी
कतिपय कर्मचारी त घुसखोरी समेत गरिरहेका हुन्छन् । कुनै ग्राहकले कर्जा माग गरिरहेको छ भने यति दिनुभयो भने मिलाइदिन्छु भन्दै ग्राहकलाई फकाउने कार्य भइरहेको हुन्छ । घुस दिन नमान्ने ग्राहकको फाइन नै अड्काइदिने कार्य समेत भइरहेका हुन्छ । कर्जाका लागि सबै कागजात तथा प्रक्रियाहरु पुगेको भएतापनि घुस नदिएको भन्दै लोन पास नगर्दिने कार्य समेत हुने गर्दछ भने कसैले ठूलो रकम घुस दियो भने कर्जा दिन आवश्यक प्रक्रिया नै नपुगेका व्यक्तिलाई समेत कर्जा पास गराइदिने खेल समेत हुने गर्दछ ।
यस्ता, वित्तीय अनुशासनबाहिरका कुराहरु बैंकिङ कसूरअन्तर्गत पर्दछन् । यस्तो कार्य गर्ने कर्मचारीलाई कारबाही हुने गर्दछ । यस्ता कुरामा बैंकहरु आफैँले पनि ध्यान दिने गर्नुपर्दछ । बैंकले पहिले त कर्मचारी नियुक्त गर्दा नै सबै कुरा विचार गर्नुपर्दछ भने नियुक्त गरिसकेपछि पनि समयसमयमा अनुगमन गरिरहनुपर्दछ । त्यस्तै, बैंकबाट सेवा लिने ग्राहकले पनि यस विषयमा विचार पुर्याउनुपर्दछ । कसैले घुस मागेको छ भने उजुरी गर्ने लगायतका कुरामा आफू पनि चनाखो हुनुपर्दछ ।




