August 31st, 2017

मुद्दति निक्षेपको रुपमा डेढ अर्ब लगानी गर्दै राष्ट्र बैंक, बैंकहरुसँग माग्यो प्रस्ताव

नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपको रुपमा एक अर्ब ५२ करोड ६२ लाख रुपैयाँ लगानी गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले विभिन्न कोषमा भएको उक्त रकम एक वर्ष (आगामी असोज १ गतेदेखि २०७५ भदौं ३१ गतेसम्म)का लागि उक्त रकम लगानी गर्न लागेको हो । 

राष्ट्र बैंकले लगानी गर्न लागेको कुल रकममध्ये एक अर्ब २२ करोड १० लाख रुपैयाँका लागि वाणिज्य बैंकको प्रस्ताव माग गरिएको छ भने विकास बैंकका लागि २२ करोड ८९ लाख रुपैयाँ छुट्याइएको छ । बाँकी सात करोड ६३ लाख रुपैयाँ राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुका लागि छुट्याएको छ । 

सो रकम लिन ईच्छुक बैंक तथा वित्तीय संस्थाले आउने सोमबारसम्म प्रस्ताव पेश गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका बैंक तथा वित्तीय संस्थाले मात्र प्रस्ताव गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । यस्तै शिघ्र सुधारत्मक कारबाही फुकुवा भएको ६ महिना पुगेका संस्थाहरुले समेत आवेदन दिन पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]