Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनचाँदी धितोमा बैंकहरूको साढे ३७ अर्ब लगानी

२०७४ भाद्र १५ गते

यादव हुमागाईं / गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा २२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले घरजग्गा, सेयरलगायतका धितोमा हुने लगानीलाई निरुत्साहित गर्ने नीति लिएपछि सुन धितोमा लगानी वृद्धि भएको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले २०७४ असारसम्म सुन र चाँदी धितो राखेर ३७ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो असारसम्म यस क्षेत्रमा लगानी ३० अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकले केही समयदेखि बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा बढेको भन्दै यसले जोखिम निम्त्याउने भन्दै केही महिनायता बैंकहरूलाई सचेत गराइरहेको छ । लगानीका क्षेत्रहरूको सिमितता र अनुत्पादक क्षेत्रमा लगानीको कडाइका कारण सुन धितोमा प्रदान गरीने उपभोग्य कर्जा वृद्धि भएको हो ।

नेपाली समाजमा सुन तथा चाँदीलाई गहनाको रुपमा प्रयोग गर्ने भए पनि यसलाई अप्ठ्यारो पर्दा तुरुन्त रकममा परिवर्तन गर्न सकिने भएकाले बचतका रुपमा समेत लिइन्छ । सर्वसाधारणमा सुन किन्ने र आफूलाई अप्ठेरो पर्दा त्यही धितो राखेर ऋण लिने प्रचलन छ । पछिल्लो समयमा लगानीका रुपमा समेत ढिक्का सुन किनेर राख्ने प्रचलन समेत रहेको व्यापारीहरू बताउँछन् । सुनलाई नगद सरह मानिने र लगानी पनि सुरक्षित हुने भएकाले बैंकहरूले प्राथमिकता दिएर लगानी गर्दै आएका छन् । सुरु सुरुमा सुन किनेको पसलबाट धितो राखेर कर्जा लिने सर्वसाधारणहरू विस्तारै बैंक तथा वित्तीय संस्थामा आकर्षित हुन थालेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य सुनचाँदी धितोमा कर्जा दिने प्रचलन सुन व्यापारीबाटै सुरु भएको बताउँछन् । “पहिला पहिला व्यापारीले मात्र सुनधितोमा ऋण दिन्थे,” उनले भने, “अहिले बैंकहरूले पनि यो काममा प्राथमिकता दिएका छन् ।”

बैंकहरूले उपभोग्य शीर्षकअन्तर्गत छोटो समयमा लागि सुन धितो लिएर दिने गरेका छन् । सर्वसाधारणले पनि छिटो प्रक्रियाबाट कर्जा दिने भएकाले सर्वसाधारणले भने आफूलाई अप्ठेरो पर्दा गर्जो टार्न सुन धितो राखेर कर्जा लिने गरेका छन् । ऋण लिने प्रक्रिया सरल भएको र छिटो हुनुका साथै व्याजदर पनि अन्य कर्जाको तुलनामा सस्तो रहेकाले सुनचाँदी धितो कर्जा सर्वसाधारणबीच लोकप्रिय छ । घरजग्गामालगायत अन्य सम्पत्ती धितोमा ऋण लिन मूल्यांकनदेखि अन्य लामो प्रक्रिया पूरा गर्नुपर्ने भए पनि सुनचाँदी धितोमा कर्जा छिटो पाइने व्यवस्था छ । बैंकहरूले सुन धितोमा कर्जा लगानी गर्दा बजार मुल्यका आधारमा धितो मूल्यांकन गरी ग्राहक हेरेर ५०–७० प्रतिशतसम्म कर्जा लगानी गर्ने गरेका छन् । अहिले बैंकहरूले सुन धितोमा १० देखि १५ प्रतिशतसम्म व्याजदरमा लगानी गर्ने गरेका छन् ।

बैंकहरूले २०७२ असोजसम्म १९ खर्ब ८६ अर्ब रुपैयाँ लगानी गरेका छन् । उक्त लगानीमध्ये अधिकांश घरजग्गा तथा स्थिर सम्पति धितोमा लगानी हुने गरेको छ । कारोबार दैनिकमा प्रकाशित समाचार