April 26th, 2016

चारवटा विकास बैँकले हकप्रद शेयर निष्काशन गर्दै

economicक्षेत्रीयस्तरका ३ वटा विकास बैँक र एउटा लघुवित्त विकास बैँकसहित चारवटा वित्तीय संस्थाले हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । चुक्ता पुँजी बढाउनका लागि चालू आर्थिक वर्षभित्रमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैँक, कर्णाली विकास बैँक, सेवा विकास बैँक र क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् । 

नेपाल कम्युनिटीले १० करोड रुपैँया बराबरको हकप्रद शेयर विक्रि गर्दैछ । बैँकले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी १० करोड ९५ लाख रुपैँयाको १ः१ को अनुपातमा १ सय रुपैँया अंकित मूल्य कायम रहने गरी १० लाख कित्ता हकप्रद शेयर विक्रि गर्न लागेको हो । हकप्रद विक्रिपश्चात् चुक्ता पुँजी २० करोड ९५ लाख रुपैँया पुग्नेछ । बैँकको शेयर निष्काशन तथा विक्रि प्रवद्र्धक एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रद विक्रि वैशाख ३० गतेदेखि असार १ गतेसम्म खुला रहनेछ । बैँकमा संस्थापक शेयरधनी ७० प्रतिशत छन् भने सर्वसाधारण शेयरधनी ३० प्रतिशत छन् । 

कर्णाली विकास बैँकले हालको ८ करोड चुक्तापुँजीको २ः१ को अनुपातमा १ सय रुपैँया अंकित मूल्य कायम रहने गरी ४ करोड रुपैँया बराबरको हकप्रद शेयर विक्रि गर्दै छ । हकप्रद शेयर विक्रिपश्चात् बैँकको चुक्ता पुँजी १२ करोड रुपैँया पुग्नेछ । हकप्रद शेयर विक्रि जेठ २ गतेदेखि सार ५ गतेसम्म खुला रहनेछ । बैँकको शेयर निष्काशन तथा विक्रि प्रवद्र्धकको रुपमा ग्रोमर मर्चेन्ट बैँकर लिमिटेड रहेको छ । 

त्यस्तै, क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाले हालसम्म कायम रहेको चुक्तापुँजीको १ः१.२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । गत वैशाख ९ गते सञ्चालक समितीले गरेको सो निर्णयलाई आगामी विशेष साधारणसभाले पारित गर्ने जनाइएको छ ।  

सेवा विकास बैँकले पनि हाल कायम रहेको चुक्तापुँजीको १ः१.२को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । बैँकको सञ्चालक समितीको २३३ औँ बैठकले सो निर्णय गरेको हो ।