वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ४५ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । आर्थिक वर्ष ०७२र७३ को तुलनामा यी बैंकहरूको खुद मुनाफा करिब २७ प्रतिशतले बढी हो । बैंकहरूले सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरणबाट कुल मुनाफा निकालिएको हो । वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरूमध्ये २३ को मुनाफा १ अर्ब रुपैयाँभन्दा बढी छ । तीमध्ये २ अर्ब रुपैयाँभन्दा बढी मुनाफा कमाउने ७ वटा र ३ अर्ब रुपैयाँभन्दा बढी कमाउने ४ बैंक छन् । अघिल्लो आर्थिक वर्ष वार्षिक मुनाफा १ अर्बभन्दा कम रहेका ६ वटा बैंकहरू पनि गत वर्ष अर्ब कमाउने बैंकको समूहमा उक्लिएका छन् । तीमध्ये केही बैंकहरूको मुनाफा अन्य वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनको कारणले बढेको छ । हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् ।
अर्थतन्त्रका अन्य क्षेत्रहरूको तुलनामा वित्तीय क्षेत्र विकसित र पारदर्शी छ । सोही कारण बैंकहरूले असहज परिस्थितिमा पनि राम्रो मुनाफा कमाउँदै आएका छन् । तर, पछिल्ला महिनाहरूमा बैंकहरूको मुनाफाको आकार बढे पनि वृद्धिदर तथा सम्पत्तिमा प्रतिफल ९आरओई० घट्दै गएको बैंकरले जनाएका छन् । पुँजी वृद्धिको निर्देशनपछि अधिकांश बैंकहरूले पुँजी वृद्धि गरिसकेका छन् । चार गुणा पुँजी बढेसँगै बैंकहरूको व्यवसाय पनि बढेकाले कुल मुनाफा पनि बढेको उनीहरूको भनाइ छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरूमध्ये नलिब बैंकको मुनाफा सबैभन्दा बढी ३ अर्ब ६२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यो बैंकले २ अर्ब ८१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सरकारी स्वामित्वको नेपाल बैंक र निजी स्वामित्वको नेपाल इन्भेस्टमेन्ट बैंकले क्रमशस् ३ अर्ब २१ करोड र ३ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ३ अर्ब ८ करोड रुपैयाँ छ ।
यसैगरी कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७७ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा यो १४ प्रतिशतको वृद्धि हो । यसैगरी हिमालयन र ग्लोबल आईएमई बैंकले पनि २ अर्ब रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षमा हिमालयन बैंकको खुद मुनाफा २ अर्ब १७ करोड र ग्लोबल आईएमई बैंकको २ अर्ब ३ करोड रुपैयाँ छ ।
अघिल्लो वर्ष यी बैंकको मुनाफा क्रमशस् १ अर्ब ९१ करोड र १ अर्ब ३८ करोड रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्ष १ अर्बभन्दा कम मुनाफा आर्जन गरेका माछापुच्छ्रे, सानिमा, बैंक अफ काठमान्डु, एनसीसी, सनराइज र लक्ष्मी बैंकले पनि गत वर्ष अर्ब रुपैयाँभन्दा बढी मुनाफा कमाएका छन् । तर, मेगा, कुमारी, जनता, सिभिल र सेन्चुरी बैंकको मुनाफा गत वर्ष पनि १ अर्ब रुपैयाँभन्दा कम छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष मुनाफाको आकार बढे पनि सम्पत्तिको प्रतिफल घटेकाले सन्तोष मानेर बस्नुपर्ने अवस्था नरहेको एनआईसी बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । ‘पुँजी वृद्धि भएअनुसार मुनाफा बढ्नु स्वाभाविक हो तर, यसमा उत्साहित हुनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘अधिकांश बैंकहरूको आरओई घट्नु राम्रो होइन ।’ पुँजी वृद्धिपछि व्यवसाय वृद्धिमा पनि दबाब परेको जनाउँदै उनले भने, ‘बैंकहरूलाई अघिल्लो वर्षको आरओई जोगाउनै मुस्किल छ ।’
आउँदो असोजसम्म वाणिज्य बैंकहरूले न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । हाल अधिकांश बैंकहरूले चुक्ता पुँजी बढाइसकेका छन् । पुँजी वृद्धिपछि बैंकहरूलाई व्यवसाय ९लगानी० विस्तार गर्न दबाब पुग्यो । यसैकारण ऋण प्रवाह बढयो । लगानी बढेपछि मुनाफाको आकार पनि बढयो । तर, लगानी वृद्धिको तुलनामा आरओई बढ्न नसकेको बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालले बताए । ‘लगानी बढेको र खराब कर्जामा सुधार भएकाले मुनाफाको आकार बढेको देखिन्छ,’ उनले भने, ‘तर, बैंकहरूलाई आरओई घटेको छ ।’ गत असारसम्म बैंकहरूको कुल निक्षेप २० खर्ब ९२ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा यो करिब साढे १८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष ०७२र७३ को अन्त्यमा ती बैंकहरूको कुल निक्षेप १७ खर्ब ६४ अर्ब रुपैयाँ थियो ।
यसैगरी गत आर्थिक वर्षमा २८ वटा वाणिज्य बैंकहरूले १७ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गएको वर्षमा ती बैंकहरूको कर्जा प्रवाह औसत करिब २६ प्रतिशतले बढेको हो । आर्थिक वर्ष ०७२र७३ को अन्त्यमा ती बैंकहरूको कुल कर्जा प्रवाह १३ खर्ब ६८ अर्ब रुपैयाँ थियो । यसरी निक्षेपभन्दा ऋणको वृद्धिदर बढी भएकै कारण गत वर्ष वित्तीय प्रणाली असन्तुलित बनेको थियो । यसकारण ब्याजदरमा उच्च उतारचढाव आएको थियो । अहिले वित्तीय प्रणाली केही सन्तुलित बन्दै गएको राष्ट्र बैंकले जनाएको छ । कान्तिपुर दैनिकमा प्रकाशित समाचार