२०७४ भाद्र ९ गते

ब्रोइलर कुखुरामा बीमा सुविधाः पशुपन्छी मन्त्रालयका अधिकारी नै बेखबर

राजेश बर्मा / नेपालमा ब्रोइलर कुखुराको बीमा सुरु भएको पाँच वर्ष पुगिसक्दासमेत यस विषयमा सरकारी अधिकारी अनभिज्ञ रहेको पाइएको छ। पशुपन्छी मन्त्रालयका उच्च अधिकारीले ब्रोइलर कुखुराको बीमा सुविधाबारे आफूलाई जानकारी नभएको बताए। विभागदेखि मन्त्रालयसम्मको बुझाइमा ब्रोइलर कुखुरामा बिमा सुविधा छैन। बीमाको प्रचार गर्नुपर्ने सरकारी निकाय नै अनभिज्ञ हुँदा कुखरापालक किसानले ठूलो क्षति बेहोर्दै आएका छन्। अधिकांश किसानलाई यसबारे कुनै जानकारी छैन। पछिल्लो समय बाढीका कारण तराईका किसानले कुखुरातर्फ मात्रै १० करोड ७० लाख रुपैयाँबराबरको क्षति बेहोरेका छन्। बाढीका कारण क्षति बेहोरेका अधिकांश किसानले कुखुराको बिमा गराएका थिएनन्। बिमा समितिले आर्थिक वर्ष २०७०र७१ देखि नै ब्रोइलर कुखुराको बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । जग्गा धितोमा ऋण लिएर कुखुरापालन गरेका कतिपय किसान कुखुरासहित खोर बाढीले बगाउँदा अहिले सडकमा आइपुगेका छन्। सरोकारवाला निकाय पशुपन्छी मन्त्रालयले बाढीबाट पाठ सिकेर ब्रोइलर कुखुराको बीमालेख बल्ल तयार गर्ने प्रक्रिया सुरु गर्न लागेको जानकारी दिएको छ। पशुपन्छी मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले प्यारेन्ट र लेयर्स जातका कुखुराको बीमा सुविधा उपलब्ध भए पनि ब्रोइलर कुखुराको बीमा सुविधा नभएको जानकारी दिए।

प्यारेन्ट र लेयर्स मूल्यवान कुखुरा भएकाले प्राकृतिक प्रकोप (बाढी, पहिरो, भूकम्प, भूस्खलन, हिउँ र तुसारो) तथा आकस्मिक दुर्घटनाबाट हुने नोक्सान दर कम गर्न ती दुवै जातको कुखुराको बीमा हुने उनको भनाइ छ। ‘ब्रोइलर कुखुराको हकमा बीमा सुविधा छैन। बाढीको क्षतिले हामीलाई पाठ सिकाएको छ। कुखुरामा पनि सबैभन्दा बढी क्षति ब्रोइलरतर्फ नै देखिएकाले हामी चाँडै यसमा पनि बीमा सुविधाका लागि बिमालेख तयार पार्ने प्रक्रिया सुरु गर्दै छौुं, उनले भने । बिमाको प्रचार गर्नुपर्ने सरकारी निकाय नै अनभिज्ञ हुँदा कुखरापालक किसानले ठूलो क्षति बेहोर्दै आएका छन्। ब्रोइलर कुखुरालाई बर्डफ्लूबाहेक अन्य प्रकारका प्रकोप वा दुर्घटनाको जोखिम नभएकाले बीमा सुविधा उपलब्ध नभएको मन्त्रालयका सहसचिव श्याम पौडेलले जानकारी दिए। ‘प्यारेन्ट्स र लेयर्सजस्तै ब्रोइलरको पनि बीमा सुविधा थप्नुपर्छ भनेर सबैतिरबाट सुझाव आएको छ, प्रवक्तासमेत रहेका पौडेलले भने, ‘चाँडै नै बीमालेख तयार गरी कार्यान्वयनमा ल्याउछौं।

पशुसेवा विभागका महानिर्देशक डा. विमल निर्मलले प्रतिचल्ला तीन सयदेखि पाँच सय रुपैयाँमा युरोप र अमेरिकाबाट आयात हुने प्यारेन्ट र अन्डा उत्पादन गर्ने लेयर्स जातको कुखुरामा मात्रै हालसम्म राज्यले बीमा सुविधा उपलब्ध गराएको जानकारी दिए। ‘चल्ला हुर्काएको ३५ देखि ४५ दिनमा मासु खान ब्रोइलर जातको कुखुरा बजार पठाइसक्नुपर्छु, महानिर्देशक निर्मलले भने, ‘ब्रोइलर कुखुराको छोटो अवधि भएकाले हालसम्म बिमा सुविधा छैन। ब्रोइलरको हकमा बीमा समितिले चासो नदेखाउँदा बिमा सुविधा आउन सकेन।

ब्रोइलरमा बीमा छः समिति
बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले ब्रोइलर कुखुराको बीमा सुविधा आर्थिक वर्ष २०७०र७१ देखि नै कार्यान्वयनमा आइसकेको जानकारी दिए। ‘ब्रोइलरमा बीमा सुविधा उपलब्ध गराएको झन्डै पाँच वर्ष भयो, यो विषयमा जानकारी नभएर उहाँहरूले छैन भन्नुभयो होला। प्रचारप्रसारको अभावमा धेरैलाई जानकारी नहुन सक्छु, उनले भने। चल्ला खरिद गरी खोरमा राखिसकेको अवस्थामा ब्रोइलर जातको कुखुरालाई आठ सातासम्मको बीमा गर्न सकिने व्यवस्था रहेको उनको भनाइ छ । उनका अनुसार ब्रोइलर कुखुराको बीमा सबैभन्दा सस्तो छ। चल्लाको खरिद मूल्यको १.२५ प्रतिशत मात्रै बीमाशुल्क लाग्ने व्यवस्था गरिएको छ। यो १.२५ प्रतिशतमा पनि किसानले २५ प्रतिशत मात्रै प्रिमियम शुल्क बुझाउनुपर्छ। कुल प्रिमियम शुल्कमध्ये ७५ प्रतिशत शुल्क सरकारले नै बेहोरिदिने व्यवस्था छ। बीमा समितिका अनुसार १७ वटा बीमा समितिमार्फत गत आर्थिक वर्ष २०७३र७४ मा अस्ट्रिचसहित पन्छीतर्फ ८१ करोड रुपैयाँबराबरको बिमा भएको थियो। यसमध्ये किसानले दाबीअनुसार एक करोड ३६ लाख रुपैयाँ प्राप्त गरेका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार