राष्ट्र बैङ्कले बिहीवार एक परिपत्र जारी गरेर अन्तर बैङ्क निक्षेपको परिभाषालाई सरलीकरण गरेको छ । केन्द्रीय बैङ्कले केही दिन पहिला जारी गरेको एकीकृत निर्देशिकामा बैङ्क तथा वित्तीय संस्थाले अन्तर बैङ्क निक्षेपलाई कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी रेसियो) गणनामा प्रयोग गर्न नपाउने व्यवस्था गरेको थियो । सो निर्देशिकामा संस्थाबीचको अन्तर बैङ्क निक्षेपको परिभाषा अस्पष्ट भएको भन्दै बैङ्कहरूले सच्याउन माग गरेका थिए । बिहीवार जारी परिपत्रमा ‘अन्तर बैङ्क निक्षेप’ भन्नाले कुनै इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थालाई दिएको कर्जारसापटी सोही संस्थामा निक्षेपको रूपमा राखिएको रकमलाई जनाउने छ’ भनेको छ ।
अघिल्लो पटकको व्यवस्थाले थप कर्जा लगानी गर्न समस्या पर्ने भन्दै बैङ्करहरूले नीति सच्याउन माग गर्दै आएका थिए । यस्तै केन्द्रीय बैङ्कले जारी गरेको एकीकृत निर्देशन सीसीडी रेसियो गणना गर्दा अन्तरबैङ्क निक्षेपलाई स्रोत परिचालनमा समावेश गर्न नपाइने व्यवस्था गरेको थियो । यससँगै अहिलेको अन्तरबैङ्क निक्षेपको परिभाषाले यसलाई परिमार्जन गरेको हो । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार


