२०७४ भाद्र ९ गते

नयाँ बीमा कम्पनी : चुक्ता पूँजीका लागि समय थप्न अर्थको स्वीकृति

ममता थापा / निर्धारित समयभित्र तोकिएको चुक्तापूँजी पुर्‍याउन नसक्ने नयाँ जीवन बीमा कम्पनीका लागि समयसीमा थप्न अर्थ मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयबाट स्वीकृत पाएका १० नयाँ बीमा कम्पनीले भदौ ७ भित्र चुक्तापूँजी पुर्‍याउनुपर्ने समयसीमा भएकोमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले समयसीमा बढाइदिन बीमा समितिमा भदौ ४ गते निवेदन दिएको थियो । तर, समितिले समयसीमा थप्न अस्वीकार गरेपछि महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले अर्थ मन्त्रालयमा बुधवार निवेदन दिएको थियो । सोही निवेदनका आधारमा अर्थ मन्त्रालयले समितिलाई निर्देशन दिएको हो । स्रोतले भन्यो, ‘बुधवार उक्त इन्स्योरेन्सले ४५ दिन थप गर्न अर्थ मन्त्रालयमा निवेदन दिएकाले मन्त्रालयले आवश्यकताअनुसार समय थपिदिन भनेको छ ।’ बीमा समितिले भने समय थप्नेबारे अझै निर्णय गरिसकेको छैन । समितिका अनुसार अर्थले चुक्तापूँजी नपुगेका बीमा कम्पनीलाई चुक्तापूँजी पुर्‍याउनका लागि समय थपिदिन पत्र पठाए पनि निर्णय गर्न बाँकी छ । समितिका अध्यक्ष चिरञ्जीवी पौडेलले यसबारे अहिले कुनै निर्णय नभएको बताए । उनले भने, ‘केही दिनपछि छलफल गरेर समय थप गर्ने वा नगर्ने भन्नेबारे टुङ्गो लगाउँछौं ।’

महालक्ष्मी लाइफ इन्स्योरेन्सबाहेकका ९ ओटा बीमा कम्पनीले भने निर्धारित समयभित्रै चुक्तापूँजी पुर्‍याइसकेका छन् । जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । तर, महालक्ष्मीको चुक्तापूँजी पुग्न ८० करोड रुपैयाँ बाँकी छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सका एक प्रवर्द्धकका अनुसार केही प्रवद्र्धकको रकम बैङ्कमा एयरमार्क ९जम्मा० गरेर राख्न बाँकी भएकाले समय थपका लागि समितिमा निवेदन दिइएको हो ।

नौओटा कम्पनीको भन्दा धेरै प्रवर्द्धक भएकाले महालक्ष्मी लाइफ इन्स्योरेन्सले समयमा रकम जम्मा गर्न नसकेको बताइएको  छ । नयाँ कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्सले भदौ १ गतेदेखि नै कारोबार सञ्चालन गरिसकेको छ । १० ओटा कम्पनीको प्रवर्द्धकमा संस्थाभन्दा व्यक्तिको सङ्ख्या अधिक छ । यी १० मध्ये सबैभन्दा बढी प्रवर्द्धक महालक्ष्मी विकास बैङ्कमा छन् । यसमा संस्था र व्यक्तिसमेत गरी ५५ जना रहेका छन् । यसअन्तर्गत महालक्ष्मी विकास बैङ्क, मनोरञ्जनरमण शर्मा, श्री चन्द्र भट्ट, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, भोजराज जोशी, रविकुमार टिवडेवाल, मोहनलाल चाचान, पृथ्वीराज भण्डारी, राजनप्रसाद सुवेदी, सम्झना अर्याल, अजय मिश्र, वृषबहादुर बस्नेत, शिवजी कटवाल, मनोज गुप्तालगायत छन् । रिलायन्स, रिलायबल, ज्योति, युनियन, सिटिजन, स्टार लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, आईएमई र सानिमा लाइफ इन्स्योरेन्सले भने चुक्तापूँजी पुर्‍याइसकेका छन् । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार