गत आर्थिक वर्ष ०७३र७४ को अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १५ लाख ९३ हजार ४ सय २७ बीमा योजना जारी गरेका छन् । यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो । उक्त अवधिमा कम्पनीहरूले १३ लाख १३ हजार ४१ वटा बिमालेख जारी गरेका थिए । विकास निर्माणको काम बढेसँगै जीवन बीमा व्यवसाय पनि बढ्दै गएको छ । तर, गत वर्ष बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले निर्जीवन बीमा व्यवसायमा खुम्चिएको बिमकहरूले बताएका छन् । निर्जीवन बीमा व्यवसायमा सबैभन्दा बढी हिस्सा मोटर बीमाका रहेको छ ।
तरलता अभाव कारण नेपाल राष्ट्र बैंकले मोटर कर्जामा सीमा तोकेपछि मोटर बिक्री दर घटेको थियो । फलस्वरूप निर्जीवन बीमा व्यवसाय पनि प्रभावित बनेको हो । यद्यपि गत आवमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय २८ प्रतिशतले बढेको छ । १५ निर्जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेको लेखा परीक्षण नगरिएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवमा अन्त्यसम्ममा कम्पनीहरूले १७ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । गत आवको सोही अवधिमा यो रकम १३ अर्ब ७४ करोड रुपैयाँ थियो । कम्पनीहरूले नयाँ बीमा योजना जारी गर्ने क्रम बढाए पनि नविकरणीय बिमालेखको संख्या भने घटेको छ । गत आवको अन्त्यसम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरूको नविकरणीय विमालेखको संख्या २ लाख ९१ हजार ३८५ रहेको छ ।
यो संख्या अघिल्लो आवको तुलनामा करिब ४ प्रतिशतले कम हो । सो अवधिमा कम्पनीहरूको नविकरणीय बीमालेखको संख्या ३ लाख २ हजार ६१२ रहेको थियो । त्यस्तै, गत आवमा कम्पनीहरूको दाबी भुक्तानी ४ खर्ब १९ अर्ब देखिएको छ । गत आवमा कम्पनीहरूको बीमा कोष पनि २८ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा १५ कम्पनीको बिमा कोषको आकार ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीहरूको बिमा कोष ४ अर्ब ९५ करोड रुपैयाँको थियो । साथै बीमा समितिको निर्देशनअनुसार गत आवमा सबै कम्पनीहरूले चुक्ता पुँजी बढाउने प्रयास गरेको देखिन्छ ।
समितिको निर्देशन अनुसार चालु आवको अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरूले चुक्ता पुँजी १ अर्ब पु¥याउनु पर्नेछ । वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरूमध्ये शिखर इन्स्योरेन्सको पूँजी सबैभन्दा बढी देखिएको छ । शिखर पछ्याउँदै नेको इन्स्योरेन्सले पनि पुँजी बढाउँदै गएको देखिन्छ । गत आवमा निर्जीवन बीमा कम्पनीहरूले भने ४ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा ३२ प्रतिशतले बढी हो । कम्पनीहरूलाई लगानी गर्नका लागि बीमा समितिले निश्चित क्षेत्र छुट्याएको छ । जसमा लगानी गर्ने सीमा पनि तोकिदिएको छ । सोहीअन्तर्गत कम्पनीहरूले लगानी गर्दै आएका छन् । तर, बिमामा कुनै पनि समयमा दाबी पर्न सक्ने भएकाले अधिकांश कम्पनीले बैंक तथा वित्तिय संस्थाको निक्षेपमा लगानी गर्दै आएका छन् । कारोबार दैनिकमा प्रकाशित समाचार