२०७४ भाद्र ७ गते

उल्टोबाटोमा अर्थतन्त्र : ५० मुलुकबाट आयात

नेपालले संसारका ५० मुलुकबाट वस्तु आयात गरेको छ । नेपालको वैदेशिक व्यापार हुने कुल १ सय ७७ मुलुकसँग निर्यातभन्दा वस्तु आयात गर्ने मुलुकको संख्या धेरै बढी छ । १ सय ३८ मुलुकसँग व्यापारघाटा छ भने ३९ मुलुकसँग मात्र व्यापार नाफामा रहेको भन्सार विभागले जनाएको छ । नेपालको सबैभन्दा बढी व्यापारघाटा भारतसँग छ । सबैभन्दा कम घाटा जाम्बियासँग छ । कुल व्यापारघाटाको झन्डै ७८ प्रतिशत हिस्सा भारत र चीनसँग छ । भारतसँग ६२.५ प्रतिशत र चीनसँग १६.७ प्रतिशत व्यापारघाटा रहेको विभागले जनाएको छ । व्यापारघाटा बढी भएका मुलुकमध्ये संयुक्त अरब इमिरेट्स अर्जे्न्टिना, फ्रान्स छ । यस्तै अमेरिका, नर्वे, अफगानिस्तान, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, जापान, कोरिया, मलेसिया, पारग्वे, साउदी अरब, सिंगापुरलगायत मुुलुकमा व्यापार घाटा भएको छ । जिम्बावे बर्मुडा, आइसल्यान्डको व्यापारघाटा झ्न फराकिलो बन्दै गएको छ । 

बाह्य क्षेत्र वैदेशिक व्यापार 
आर्थिक बर्ष २०७४ मा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु. ७३ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा १७.८ प्रतिशतले ह्रास आएको थियो । तथापि यस्तो निर्यात आर्थिक वर्ष २०७१÷७२ को रु. ८५ अर्ब ३२ करोडको स्तरभन्दा न्यून नै छ । समीक्षा अवधिमा भारततर्फ ५ प्रतिशत, चीनतर्फ १.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.३ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका सामान, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, ऊनी गलैचा, तयारी पोशाक, पोलिष्टर धागो लगायतका वस्तुहरुको निर्यात घटेको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो बर्ष ३.१ प्रतिशत रहेकोमा समीक्षा बर्षमा २.८ प्रतिशत रहेको छ । 
समीक्षा वर्षमा कुल वस्तु आयात २८ प्रतिशतले बढेर रु. ९९० अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ०.१ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा भारतबाट भएको आयात ३२.८ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. विलेट, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष ३४.४ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३८.१ प्रतिशत रहेको छ । 
भन्सार नाकाका आधारमा भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, मेची भन्सार, कैलाली भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा वर्षमा भैरहवा भन्सार, विराटनगर भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । १८. समीक्षा वर्ष कुल वस्तु व्यापार घाटा ३०.४ प्रतिशतले बढी रु. ९१७ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा २ प्रतिशतले बढेको थियो । समीक्षा वर्ष निर्यात–आयात अनुपात ७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो । व्यापार घाटा कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्षको ३१.३ प्रतिशतबाट बढेर समीक्षा बर्षमा ३५.३ प्रतिशत पुगेको छ । 

निर्यात आयात मूल्य सूचकाङ्क 
आर्थिक वर्ष २०७४ मा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक विन्दुगत आधारमा १०.४ प्रतिशत र आयात मूल्य सूचकाङ्क ०.१ प्रतिशतले बढेकाले व्यापारको सर्तमा ९.१ प्रतिशतले सुधार आएको छ । अघिल्लो वर्ष यस्तो सर्त २२.२ प्रतिशतले बढेको थियो ।