नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसाय (शेयर किनबेच)को नियमनमा जोखीममा आधारित सुपरिवेक्षण प्रणाली अवलम्बन गर्ने भएको छ । सम्पति शुद्धीकरणसम्बन्धी कानूनी व्यवस्थालाई समेत ध्यानमा राखेर बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा मर्चेण्ट बैङ्कर) को सुपरिवेक्षण दिग्दर्शन, २०७४ अन्तर्गत यस्तो व्यवस्था गरेको हो । यसअघि धितोपत्र व्यवसायको सुपरिवेक्षणका लागि कुनै प्रक्रियागत मापदण्ड र त्यसलाई नियमन गर्ने व्यवस्था थिएन ।
व्यवसायलाई थप पारदर्शी र व्यवस्थित गर्न आइतवारदेखि नै सुपरिवेक्षण दिग्दर्शन लागू गरेको बोर्डले बताएको छ । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार बजारको सुपरिवेक्षण कार्यलाई प्रभावकारी, पारदर्शी, व्यवस्थित र अन्तरराष्ट्रिय मूल्य मान्यताअनुरूप बनाउन ६ बुँदे सुपरिवेक्षण दिग्दर्शन लागू गरेको हो । सुपरिवेक्षण गर्दा केके विषय तथा परिसूचकलाई आधार मानेर गर्ने भन्ने व्यवस्था दिग्दर्शनमा स्पष्ट गरिएको उनले बताए । यो व्यवस्थाले धितोपत्र व्यवसायीलाई पनि आफ्नो कामकर्तव्य र सुपरिवेक्षणबारे जानकारी दिने उनको भनाइ छ ।
यसअघि बोर्डले सुपरिवेक्षण गर्दै आएको भए पनि अब भने धितोपत्र व्यवसायीको सुपरिवेक्षण स्थलगत र गैरस्थलगत दुवै रूपमा नियमित गर्ने भएको छ । यसैगरी धितोपत्र व्यवसायीको सुपरिवेक्षणका कार्यगत उद्देश्यहरू पनि तोकिएका छन् । यसअन्तर्गत हाल सञ्चालित ५० ओटा ब्रोकर संस्था र त्यसका शाखाले पूँजीबजारबारे तालीम दिएको विषयमा सुपरिवेक्षण गर्छ भने २४ ओटा मर्चेण्ट बैङ्करले गर्ने विक्री प्रबन्धक, शेयर रजिष्टार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्शका काम के कसरी गरिरहेका छन् भनेर सुपरिवेक्षण गर्नेछ ।
यसैगरी धितोपत्र व्यवसायीको नियमितरूपमा सुपरिवेक्षण गर्दै उनीहरूको हिसाबकिताब तथा लेखाप्रणालीको नियमन गरिनेछ । व्यवसायीहरूले तोकिएको ढाचाँमा वित्तीय विवरण तथा प्रतिवेदन सार्वजनिक गर्नेदेखि धितोपत्रसम्बन्धी प्रचलित कानूनको पालनालाई थप प्रभावकारी बनाउन मापदण्ड बनाइएको छ । साथै, धितोपत्र व्यवसायीको दैनिक कामकारवाही, ग्राहक पहिचान विवरण, जोखीम व्यवस्थापन, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी विवरणको रिपोर्टिङको मापदण्डमा समेत सुधार गरिएको छ ।
धितोपत्र दलाल व्यवसायीहरूको कारोबार प्रणाली, भौतिक पूर्वाधार एवम् दक्ष जनशक्ति र आन्तरिक नियन्त्रण प्रणालीजस्ता विषयको सुपरिवेक्षणमा जोड दिने बोर्डले बताएको छ । यस्तै, सुपरिवेक्षकका काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वका र उसले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी व्यवस्थासमेत दिग्दर्शनमा गरिएको छ । बोर्डले आगामी दिनमा सुपरिवेक्षण तथा कानून प्रबलीकरणमा विशेष जोड दिई स्वच्छ, पारदर्र्शी तथा प्रभावकारी रूपमा पूँजी बजार विकास गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएको छ ।
यो दिग्दर्शनको कार्यान्वयनबाट धितोपत्र व्यवसायीहरूको ऐन, नियम पालनाको अवस्थामा सुधार आउने तथा संस्थागत सुशासन सुदृढ हुने र समष्टिगतमा धितोपत्र व्यवसायीहरूको सेवा प्रवाहमा प्रभावकारिता आउने बोर्डको विश्वास छ । अभियान दैनिकमा प्रकाशित समाचार




