नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिबी नेपालले तरलता व्यवस्थापन गर्नका लागि लगानी फैलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिएका छन् । त्यसका लागि नयाँ–नयाँ क्षेत्रको खोजी गरी लगानी गर्न उनको सुझाव छ । लगानीको क्षेत्र फराकिलो भए आर्थिक क्षेत्रमा टेवा पुग्ने उनले बताए । ‘लगानीको क्षेत्र जति फैलन्छ, देशको आर्थिक विकासमा त्यतिनै टेवा पुग्छ ।’ सोमबार बुटवलमा मेगा बैंक लिमिटेड र पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको संयुक्त कारोबारको उद्घाटन गर्दै डा. नेपालले भने, ‘जसले हाम्रो स्वाभिमानमा उचाई थप्नेछ ।’ मधेस आन्दोलन पछि अर्थतन्त्र विप्रेषण र सञ्चितिले बिस्तारै राम्रो हुँदै गएको र मुद्रास्फिति नियन्त्रण आउँदै गरेको उनले दाबी गरे ।
गभर्नर डा. नेपालले बैंकहरु मर्जर भएपछि व्यवस्थापकीय सुशासन र आर्थिक हैसियत पनि सुदृढ हुने भन्दै लगानीकर्ताले व्यवस्थापन पक्षलाई दबाबमा पारेर सुशासन बिग्रने वातावरण नबनाउन पनि सुझाव दिए ।
बैंकमा लगानी गरेर कमाउँछु भन्नु बैंकलाई धरासायी पार्ने काम भएको उनले टिप्पणी गरे । गभर्नर डा. नेपालले बैंक तथा वित्तीय संस्थाको अर्थतन्त्रमा मध्यस्थताको भूमिका रहने र व्यवसायीलाई सरल र सहज सेवा प्रदान गर्नु प्रमुख जिम्मेवारी हुने बताए ।