सोमबार नेपाल स्टक एक्सचेन्जमा ९२ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३१ वटा कम्पनिको १५ लाख ६४ हजार ४२ कित्ता शेयर ४ हजार १ सय ४७ पटक खरिदविक्रि हुँदा कुल ९२ करोड ८२ लाख ६५ हजार ९ सय ५५ रुपैँयाको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा झण्डै ७ करोडले बढी हो । आइतबार ८५ करोड ९३ लाखभन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्से परिसूचक पनि आइतबारको तुलनमा ७.४ अंकले बढेर १४६१.७५ अंकमा पुगेर सोमबारको कारोबार बन्द भएको छ ।
सबैभन्दा बढी कारोबार भएको नेपाल बंगलादेश बैँकको ५ करोड ९९ लाख ८२ हजार ७ सय १९ रुपैँया बराबरका शेयरहरु खरिदविक्रि भएका छन् भने ग्लोबल आइएमई बैँकको ५ करोड ९८ लाख ७ हजार ४ सय १४ रुपैँयाको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको पनि ५ करोडमाथिको शेयर किनबेच भएको छ । स्टान्डर्ड चार्टर्ड बैँकको ४ करोड ९३ लाखभन्दा बढी रकमको शेयर खरिदविक्रि भएका छन् । ३ करोडमाथिको शेयर कारोबार गर्ने कम्पनिहरुमा एनएमबी बैँक, एनआईसी एसिया, नेपाल बैँक र सानिमा बैँक छन् भने सिटिजन बैँक र नविल बैँकको २ करोडमाथिको शेयर कारोबार भएको छ ।
सिनर्जी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । कसमस डेभलपमेन्ट बैँक, तिनउ डेभलपमेन्ट बैँक, सप्तकोशी डेभलपमेन्ट बैँक, सेवा विकास बैँक, मञ्जुश्री फाइनान्स र नेपाल कम्युनिटी डेभलपमेन्ट बैँकको शेयर मूल्य क्रमशः ९.९८, ९.९०, ९.८८, ९.८७, ९.७१ र ९.०० अंकले बढेको छ । भर्गभ विकास बैँक, गण्डकी विकास बैँक, पुर्णिमा विकास बैँक लगायतले पनि धेरै कमाएका छन् ।
धेरै गुमाउनेको अग्रस्थानमा रहेको महाकाली विकास बैँकका लगानीकर्ताले ५.७५ प्रतिशतले गुमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले ५.४५ प्रतिशतका दरले गुमाएका छन् । काष्टमण्डप डेभलपमेन्ट बैँक, महिला सहयात्रा माइक्रोफाइनान्स, अरनिको डेभलपमेन्ट बैँक, प्रुडेन्सियल इन्स्योरेन्स, आईसीएफसी फाइनान्सका लगानीकर्ताले पनि गुमाएका छन् ।
उपसूचकका आधारमा, सबैभन्दा धेरै वीमा समूह २३.७१ अंकले बढेको छ भने विकास बैँक, होटल र वाणिज्य बैँक क्रमशः २२.५९, १५.११ र ७.६५ अंकले बढेका छन् । सबैभन्दा धेरै जलविद्युृत् समूह ९.५८ अंकले घट्दा फाइनान्स र अन्य समूह क्रमशः २.८२ र १.१७ अंकले घटेका छन् ।