विवाहको सिजन सुरु भएसँगै सुन तथा सुनका गरहनाको बढी प्रयोग हुने गर्दछ । अहिले विवाहको सिजन चलिरहेको छ । यो समयमा कतिपयले आफूलाई आवश्यक गरगहना बजारबाट नै खरिद गर्ने गर्दछन् । तर, विवाहकै लागि विदेशबाट आउनुपर्ने छ भने मानिसहरु विदेशबाट नै सुनका गरगहना ल्याउने गर्दछन् । किनकि, विदेशबाट ल्याउँदा सुन सस्तो पर्न आउँछ । यद्यपि, आफूलाई मन लागेको परिमाणमा भने सुन आयात गर्न पाइँदैन । सुन पैठारी गर्नेसम्बन्धि सरकारको आफ्नै प्रावधान रहेको छ ।
यस्तो छ सुन पैठारीसम्बन्धि व्यवस्था
विदेशमा लगातार ६ महिना वा सो भन्दा बढी समय बसी फर्केमा ५ सय ग्रामसम्म सुन तथा सुनका गहना ल्याउन पाइन्छ । ५ सय ग्रामसम्म सुन ल्याएमा छुटमा ल्याउन पाउने ५० ग्राम कटाई बाँकी ४ सय ५० ग्राममा प्रति दश ग्राम ४ हजार २ सय रुपैँया भन्सार महशूल लाग्दछ । सुनका गहना ल्याएमा छुटमा ल्याउन पाउने ५० ग्राम कटाई बाँकी ४ सय ५० ग्रामको मूल्यमा १५ प्रतिशत भन्सार महशूल लाग्दछ । तर, विदेशमा ६ महिना भन्दा कम समय बसी फर्किएमा ४ सय ग्रामसम्म सुन तथा सुनका गहना ल्याउन पाइन्छ तर यस्तो अवस्थामा ५० ग्राम छुट दिई बाँकी ३ सय ५० ग्राममा लाग्ने महशूलमा ५० प्रतिशत थपेर पैसा बुझाउनुपर्ने हुन्छ ।
त्यस्तै, विदेशमा लगातार ६ महिना वा सोभन्दा पनि बढी समय बसी फर्केमा १ किलोग्रामसम्म चाँदी तथा चाँदीका गहना ल्याउन पाइन्छ । एक किलोग्रामसम्म चाँदी ल्याएमा ५ सय ग्रामसम्म छुट दिई बाँकी ५ सय प्राममा प्रति १० ग्राम ५६ रुपैँया भन्सार महशूल लाग्छ । चाँदीका गहना ल्याएमा छुटमा ल्याउन पाउने ५ सय ग्राम कटाई बाँकी ५ सय ग्राममा ३० प्रतिशत भन्सार महशूल लाग्छ ।
बैधानिक सुन आयात घट्यो
चालू आर्थिक वर्षमा सुनको आयात घटेको छ । गत आर्थिक वर्षको सुरुको ७ महिनामा १४ अर्ब ९७ करोड रुपैयाँको सुन आयात गरिएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८४ करोडको सुन मात्र भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको तुलनामा ८७ दशमलव ७ प्रतिशत कम हो । वैधानिक आयात कम हुनुको प्रमुख कारण तस्करी हो । यसले ठूलो मात्रामा राजस्वसमेत गुमेको छ । अवैध आएको सुन तोलामा एक हजारसम्म सस्तो हुने व्यवसायीहरु बताउँछन् ।




