२०७४ श्रावण २७ गते

महेन्द्र पुलिस क्लबमा कर्मचारी खोज्दै २० ठूला कम्पनीहरु

शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘जव् एण्ड करिअर फेयर’ सुरु भएको छ । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले आयोजना गरिएको यो मेला शनिबारसम्म चल्नेछ । नेपालमा यस्तो मेला पहिलो पटक भएको हो ।

मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिए ।

उनले एउटै छानामुनि जागिरको अवसर जुटाउनका लागि फेयर गर्न थालेको बताए । “बेरोजगार युवा रोजगारीका लागि कतै भौँतारिन नपरोस् भन्नका लागि हामीले एउटै छानामुनि कम्पनीलाई आवश्यक कर्मचारी उपलब्ध गराउने भएका हौँ” उनले भने– “फेयरमा युवाले कम्पनीमा रोजगारका लागि निवेदन दिन्छन् र कम्पनीले योग्यलाई छनोट गरेर जागिर दिन्छन् ।”

प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हुने फेयरमा नेपालका १८ र भारतका दुई कम्पनीले सिधै रोजगारको अवसर दिनेछन् । ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति फेयरबाट नै छनोट गर्ने भट्टराईले बताए ।

उनका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् ।

फेयरमा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउनेछन् र ती कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छान्नेछन् । अधिकारी क्रियटिभ कन्सर्नको आयोजनामा फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।