Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
दृष्टिकोण

कृष्णहरी बाँस्कोटाको नजरमा : जनमानससम्म बिमा नपुग्नुका कारणहरु

२०७३ बैशाख १२ गते

krishnahari banskotaवर्षदिन अगाडि नेपालमा गएको विनाशकारी भूकम्पले पुर्याएको क्षतिबाट राहत हासिल गर्न बिमा नगरिएको विषय जुन रूपमा महत्वका साथ उठ्नुपथ्र्याे, सोअनुरूप बहस भइरहेको पाइँदैन । तथापि बिमा समिति र बिमा कम्पनीहरूले यस क्षेत्रमा आफ्नो प्रयास जारी राखेको बताएका छन् । बितेको वर्ष अर्थात् ०७२ सालमा भूकम्पका कारण १८ अर्ब ५८ करोड २६ लाख रुपैँयाको क्षतिपूर्ति दाबी भएको छ । बिमाको इतिहासमा यति ठूलो दाबी परेको यसै पटक हो । यसै वर्ष निर्जीवन बिमातर्फ १० अर्ब २० करोड रुपैँया भुक्तानी भएको बिमा कम्पनीहरूले जानकारी दिएका छन् । 

यथार्थमा बिमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्ने नियामक निकाय बिमा समितिको अझ बढी र प्रभावकारी भूमिकाको अपेक्षा अहिले बढ्दो छ । बिमाको मूल उद्देश्य प्राकृतिक तथा सामाजिक जोखिमविरुद्ध आर्थिक सुरक्षा प्रदान गर्नु हो । तर, यस विषयमा आमनागरिकले जान्नु र बुझ्नु बाँकी नै रहेझैं प्रतीत हुन्छ । साथै यस क्षेत्रमा व्यापक प्रचारप्रसार र अध्ययन–अनुसन्धान पनि हुन सकिरहेको छैन । सीमावर्ती क्षेत्रमा विदेशी बिमा कम्पनीहरूले अवैध रूपमा नेपालीलाई बिमा गराइरहे पनि यसलाई रोक्न सकिएको छैन । हाल नेपालमा ९ वटा जीवन बिमा व्यवसाय गर्ने कम्पनी क्रियाशील छन् भने १७ कम्पनीले निर्जीवन बिमा व्यवसाय गरी आएका छन् । यसका अतिरिक्त एउटा बिमा कम्पनीले पुनर्बिमा व्यवसायको काम गर्दै आइरहेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय बिमा कम्पनीलाई जीवन र निर्जीवन बिमा कम्पनीका रूपमा अलग गर्न नेपाल सरकारलाई सफलता मिलेको छ भने साविकको आकस्मिक बिमा कोषलाई पुनर्बिमा कम्पनीमा रूपान्तरण गरी यस क्षेत्रको अभाव पूर्ति गरिएको छ । अब यस क्षेत्रलाई थप व्यवस्थित र जनता केन्द्रित गरी अगाडि बढ्नु समयको माग हो भन्ने कुरा बुझ्न ढिला गर्नु हुँदैन । 

आयात–निर्यात व्यापारमा अझै पनि विदेशी बिमा कम्पनीकै वर्चस्व रहेको लाजमर्दाे स्थिति छ । नेपालमा कार्यरत २७ बिमा कम्पनीमध्ये स्वामित्वका हिसाबले ३ वटा बिमा कम्पनी विदेशी बिमा कम्पनीको शाखाका रूपमा क्रियाशील छन् भने ३ वटा बिमा कम्पनी विदेशी बिमा कम्पनीको संयुक्त पुँजी लगानीमा सञ्चालित छन् । यसअतिरिक्त १८ वटा बिमा कम्पनी निजी स्वामित्वमा सञ्चालित छन् भने २ वटा बिमा कम्पनी सरकारी स्वामित्वमा छन् । अर्थमन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षणका अनुसार मुलुकमा कार्यरत जीवन तथा निर्जीवन बिमा कम्पनीहरूको वित्तीय स्रोत तथा उपयोग आर्थिक वर्ष ०७१/७२ को फागुन मसान्तसम्ममा १ खर्ब १५ अर्ब ९९ करोड ८० लाख रुपैँया पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.८५ प्रतिशतको वृद्धि हो । 

नेपाल सरकारले युवा स्वरोजगार कोषबाट ऋण प्रवाह गर्दा होस् वा कृषि विकास बैंकबाट लगानी गर्दा होस, अनिवार्य रूपमा बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसबाट व्यक्तिले बेहोर्नुपर्ने जोखिम घटेको छ । यसै दृष्टान्तलाई मनन गरी सरकारले कृषि बाली र पशुपन्छी बिमामा ७५ प्रतिशतसम्म प्रिमियममा अनुदान दिएको छ । यसका अतिरिक्त बिमा गर्ने व्यक्तिलाई सरकारले आयकरमा छुट दिएको छ । यसरी बिमा प्रवद्र्धन गर्न सरकारले अनेकौं आकर्षक सुविधा दिए पनि यो विषय आम जनताबीच पुग्न नसक्नु स्वयंमा विडम्बनाको विषय हो । तर, यसो भनेर आर्थिक जोखिमलाई सुरक्षित तुल्याउने बिमा कम्पनीहरू स्वयंमा व्यवस्थित हुनुपर्नेतर्फ सरकारको ध्यान जानु नपर्ने भने होइन । 

हाल अधिकांश जीवन बिमकको चुक्ता पुँजी ५० करोड र निर्जीवन बिमकको २५ करोड पुगेको स्थिति छ । यसबाट बिमा कम्पनीको नाफा र आर्जन पनि बढेको छ । आव ०७०÷७१ मा कुल बिमाशुल्क ३० अर्ब ७१ करोड ७ लाख रुपैँया आर्जन भएको देखिन्छ । अर्काे कुरा, आव २०७०/०७१ मा जीवन तथा निर्जीवन बिमामा कुल ८७ अर्ब ६१ करोड ३० लाख रुपैँया लगानी भएको छ भने ०७१/७२ को फागुन मसान्तसम्ममा कुल लगानी ९७ अर्ब ७३ करोड ३४ लाख रुपैँया पुगेको कुरा आर्थिक सर्वेक्षणमा उल्लेख भएको छ । यस स्थितिमा बिमा ऐन, २०४९ लाई प्रतिस्थापन गरी बिमाको आधुनिकीकरणमा सहयोग   पुर्याउने कानुनी र संस्थागत संरचना तयार गर्नु, बाली तथा पशु बिमा अझ तीव्र रूपमा विस्तार गरी कृषिमा जनसाधारणको लगानी सुरक्षित गरी कृषि अर्थतन्त्रको विकासमा टेवा पु¥याउनु, लघु बिमाको विकास गर्न र जीवन बिमा सेवा विस्तार गरी अधिकतम नेपालीको पहुँचमा पुर्याउन चुनौतीपूर्ण रहेको अर्थमन्त्रालयको ठम्याइ छ । 

जनमानससम्म बिमा नपुग्नुका कारणहरु
बिमा व्यवसाय अपेक्षाकृत रुपले जनमानसमा पुग्न नसक्नुमा एउटा कारण सहरकेन्द्रित हुनु पनि हो । यसैगरी बिमा कम्पनीहरू नाफामा जाने, तर बिमा गर्नेले तुलनात्मक रूपमा कम लाभ हासिल गर्ने आलोचनाबाट पनि यो क्षेत्र मुक्त छैन । साथै जोखिम कम भएको क्षेत्रमा मात्रै बिमा कम्पनी गए भन्ने पनि गुनासो छ । अर्थात् जोखिम नलिने प्रवृत्तिले बिमाको मुख्य ध्येयमा नै पुग्न नसकिएको भान हुन्छ । अर्काे कुरा, नेपाल कृषिप्रधान देश हो । यसले मुलुकभरि फैलिएका कृषकको घरदैलोसम्म कृषि र पशु बिमा कार्यक्रम लिएर पुग्न सकिन्छ । यसतर्फ बिमा कम्पनीहरूले खासै चासो दिएनन् पनि भनिन्छ । यथार्थ पनि हो । बिमा कम्पनीका क्रियाकलाप र व्यवहारले पनि बिमा गर्नेहरूलाई सन्तुष्टि दिन नसकेको बुझिन्छ । यसअन्तर्गत समयमा सर्वेक्षक नखटाउने, क्षतिको यथार्थपरक मूल्यांकन नगर्ने, क्षति हुनेले दाबी गरेको र कम्पनीले दिने क्षतिबीच ठूलै फरक पर्ने गरेको कारण पनि मानिसहरू बिमामा आकर्षित हुन सकिरहेका छैनन् । समयमा ‘केस सेटल’ नगर्ने रोगबाट पनि बिमा कम्पनीहरू ग्रसित भएको आरोप बारम्बार लाग्दै आएको छ । भूकम्पपछिको बिमा दाबीको भुक्तानीमा भइरहेको विलम्बबाट बिमितहरू आजित भएका छन् । यस्तै भुक्तानी वा क्षतिदिने बखत विभिन्न शुल्कको नाममा रकमकट्टी गर्नेलगायतको आलोचनाबाट पनि बिमा कम्पनीहरू दोषमुक्त हुन सकिरहेका छैनन् । 

प्रत्येक जीवन र व्यवसायको बिमा गर्ने वातावरण आवश्यक
बिमा क्षेत्र अर्थतन्त्रको एउटा महत्वपूर्ण पक्ष हो । यसको विकासबिना मुलुकको सन्तुलित र दिगो आर्थिक विकास सम्भव छैन । यसर्थ सबै आयोजना, कार्यक्रम र स्वरोजगार योजनाको बिमा गर्ने प्रबन्ध गर्नुपर्छ । प्रत्येक व्यावसायिक व्यक्तिले आफ्नो व्यवसायको र प्रत्येक व्यक्तिले आफ्नो जीवन बिमा गर्ने वातावरण निर्माण गर्न यससम्बन्धी सही सूचना जारी गर्नुपर्छ । बिमा क्षेत्रमा तालिम केन्द्र स्थापना गर्नुपर्छ । सीमावर्ती क्षेत्रलगायत मुलुकभरि नै नेपाली बिमा कम्पनीको उपस्थिति रहनुपर्छ । बिमा क्षेत्रले बैंकिङ र स्टक एक्सचेन्ज क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने नीति अख्तियार गर्नुपर्छ । आममानिसमा रहेको बैंकमा बचत गर्ने बानीलाई बढावा दिँदै यसअतिरिक्त बिमा पनि गर्नुपर्छ भन्ने सचेतना जगाउनुपर्छ । 

नेपाल सरकारले सवारी साधनको तेस्रो पक्ष बिमा गर्ने नीति लिएपछि सडक बन्द गर्ने अभियान रोकिएको छ । सबै सवारी साधनको वार्षिक नवीकरण गर्दा बिमाको क्षेत्र विस्तार भएको छ । निजामती कर्मचारीको २ लाख रुपैँयाको सावधिक जीवन बिमा छ । निर्वाचनमा खटिने कर्मचारीको १५ लाख रुपैँयाको बिमा गरिएको थियो । यस्ता विषयलाई नियाल्दा आमनागरिकले राज्यले बाध्य गरेमा बिमा गर्ने र स्वतः स्फूर्त रूपमा बिमाबारे अनभिज्ञ भइरहने प्रवृत्तिलाई उचित ठान्न सकिन्नँ । यसर्थ सरोकारवाला निकाय, अर्थशास्त्री र प्रत्येक व्यक्तिले बिमाको महत्वबारे अभियानकै रूपमा सूचना प्रवाह गर्ने सत्कार्यको थालनी गर्नुपर्छ । आमनेपालीको स्वास्थ्य बिमा गर्ने विषय पटक–पटक उजागर भएर पनि व्यवहारमा आउन सकिरहेको छैन । यसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।