Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बाढी प्रभावितका लागि मेटलाइफ नेपालको ३० लाख रुपैयाँ सहयोग

२०८३ भाद्र १२ गते

बैंकिङ खबर /  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि मेटलाइफ नेपालले ३० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउने तथा उद्धार र पुनःस्थापनाका प्रयासमा सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित समुदायको सहयोगका लागि कम्पनीले आर्थिक योगदान गरेको हो । भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र चितवनका विभिन्न नदी तटीय क्षेत्र प्रभावित भएका छन् । बाढीका कारण कतिपय क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ ।

विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउनु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको मेटलाइफ नेपालले जनाएको छ । कम्पनीले विपद्बाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका प्रयासमा आफ्नो तर्फबाट योगदान गर्ने जनाएको छ ।

मेटलाइफ नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । बाढी प्रभावित नागरिकका लागि उपलब्ध गराइएको ३० लाख रुपैयाँको सहयोगले तत्काल राहत तथा उद्धारका कार्यमा केही हदसम्म योगदान पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीले आगामी दिनमा पनि आवश्यकताअनुसार समुदाय तथा विपद् प्रभावित नागरिकको सहयोगमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।