Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

समस्याग्रस्त ९ वित्तीय संस्था ब्युँतिँदै

२०७४ श्रावण २४ गते

यज्ञ बञ्जाडे,/ केन्द्रीय बैंकबाट हालसम्म समस्याग्रस्त घोषणा भएका १६ संस्थामध्ये ९ वटा ब्युँतिने भएका छन् । समस्याग्रस्त फुकुवा भई सञ्चालनमा आएका र फुकुवाको प्रक्रियामा रहेकासहित कम्तीमा नौवटा ब्युँतिने भएका हुन् । हालसम्म ३ वटा सञ्चालनमा आइसकेका छन् भने ६ वटा सञ्चालनमा आउने प्रक्रियामा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

समस्याग्रस्त घोषणा भएकामध्ये नेपाल विकास बैंक, सम्झना फाइनान्स, युनाइटेड विकास बैंक र हिमालयन फाइनान्स खारेजीमा गइसकेका छन् । तीमध्ये हिमालयन फाइनान्सको खारेजी प्रक्रिया अन्तिम चरणमा छ । यसअघि समस्याग्रस्त घोषणा भएका गोर्खाज फाइनान्स (तत्कालीन गोर्खा विकास बैंक मर्ज भएर बनेको), जनरल फाइनान्स र अरुण फाइनान्स सञ्चालनमा आइसकेका छन् । समस्याग्रस्त रूपमा रहेको तत्कालीन गोर्खा विकास बैंक सामान्य अवस्थामा आएपछि काठमाडौं फाइनान्ससँग मर्जर भएर एक तह घटुवा भई गोर्खाज फाइनान्सको नामबाट सञ्चालनमा आएको हो ।

०६५ सालमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाको अनुमति रोकेको राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘घ’ वर्गका लघुवित्त बैंक स्थापनामा पनि रोक लगाएको छ । यसकारण समस्याग्रस्त वित्तीय संस्थामै लगानीकर्ताको आकर्षण बढेको छ । राष्ट्र बैंकका अनुसार हाल ९ वटा संस्था मात्र समस्याग्रस्त रूपमा छन् । तीमध्ये पनि ६ वटा संस्थाको सेयर स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेको राष्ट्र बैंकले जनाएको छ । ती संस्थाहरू पनि सञ्चालनमा आएपछि बिग्रेका मध्येबाटै ९ वटा संस्था पुन: सञ्चालनमा आउने भएका हुन् । 

बाँकी तीनवटा संस्थामध्ये सेयर मार्केट एन्ड फाइनान्स र क्रिस्टल फाइनान्सको विषयमा अदालतमा मुद्दा विचाराधीन छ । यसकारण अदालतको निर्णय आइनसक्दै ती संस्थालाई यथास्थितिमा राख्ने राष्ट्र बैंकको मनसाय देखिन्छ । अर्को संस्था नारायणी डेभलपमेन्ट बैंकबारे भने केही प्रगति भएको देखिँदैन । यसकारण उक्त संस्थालाई खारेजीमा लाने वा पुन: सञ्चालनमा ल्याउने विषयमा राष्ट्र बैंकले निर्णय गरिसकेको छैन । ‘नयाँ लगानीकर्ता खोजेर वा कुनै संस्थासँग मर्ज गरेर भए पनि नारायणी विकास बैंकलाई जोगाउने विषयमा पनि छलफल भइरहेको छ,’ स्रोतले भन्यो । 

समस्याग्रस्त संस्थामध्ये कुवेर मर्चेन्ट फाइनान्स सञ्चालनको अन्तिम तयारीमा छ । यसका लागि यो कम्पनीको सेयर स्वामित्व हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा रहेको राष्ट्र बैंकले जनाएको छ । ‘आउँदो भदौ ४ गते संस्थाको साधारणसभा हुँदै छ, सम्भवत: त्यसपछि यो संस्था सञ्चालनमा आउनेछ,’ स्रोतले भन्यो । यो कम्पनीको अधिकांश सेयर सिटी एक्सप्रेसलगायत समूहले खरिद गरी सञ्चालनमा ल्याउन लागेको हो ।

क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कतार र जापानमा रहेका गैरआवासीय नेपालीको एक समूहले सञ्चालनमा ल्याउन लागेको छ । यसका लागि सेयर स्वामित्व हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । यसैगरी वल्र्ड मर्चेन्ट बंैकिङ एन्ड फाइनान्सको सेयर हस्तान्तरण प्रक्रिया पनि पूरा भइसकेको छ । तर, संस्थाको न्यूनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगि नसकेकाले राष्ट्र बैंकले समस्याग्रस्त फुकुवा गर्न मानेको छैन । सञ्चालकबाट उक्त प्रतिबद्धता आएलगत्तै समस्याग्रस्त फुकुवा गर्ने मनसायमा राष्ट्र बैंक छ ।

यसैगरी आउँदो भदौ/असोजसम्म नेपाल फाइनान्सको प्रक्रिया पनि पूरा हुने राष्ट्र बैंकले जनाएको छ । काठमाडौं उपत्यकाकै एक व्यापारिक समूहले उक्त कम्पनीको सेयर खरिद गरी सञ्चालनमा ल्याउन लागेको हो । पुन: सञ्चालनका लागि सेयर हस्तान्तरण प्रक्रिया सुरु भएकामध्ये सबैभन्दा बढी काम पूरा भएको संस्था कर्पोरेट डेभलपमेन्ट बैंक हो । यो बैंकको सेयर वीरगन्जका व्यापारी/लगानीकर्ताले सञ्चालनमा ल्याउन लागेका हुन् । ‘यो संस्थाले ०७३ चैतको परिष्कृत वित्तीय विवरण पेस गरेलगत्तै समस्याग्रस्त फुकुवा गर्न सकिन्छ,’ स्रोतले भन्यो । 

ललितपुर फाइनान्सको पनि सेयर स्वामित्व हस्तान्तरण प्रक्रिया चलिरहेको राष्ट्र बैंकले जनाएको छ । यो कम्पनीलाई पनि काठमाडौं उपत्यकाकै एक व्यापारिक समूहले सञ्चालनमा ल्याउँदै छ । विगतमा समस्याग्रस्त संस्था धेरै हुँदा छुट्टै महाशाखा गठन गरी व्यवस्थापन सुरु गरेको राष्ट्र बैंकले अब उक्त महाशाखा खारेज गर्ने तयारी गरेको छ । ‘असोजसम्म अधिकांश संस्था सञ्चालनमा ल्याउने, बाँकी रहेका १/२ वटा लाई कुनै विभागको जिम्मा लगाएर यो महाशाखा खारेज गर्ने तयारी गरेका छौं,’ स्रोतले भन्यो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले उक्त विषयबारे छलफल भए पनि अन्तिम निर्णय भइनसकेको बताए । ‘समस्याग्रस्त संस्थाहरूमध्ये केही सेयर स्वामित्व हस्तान्तरण प्रक्रियामा छन्, उक्त प्रक्रिया पूरा भएपछि अन्य मापदण्ड पनि पुगेका संस्थाहरू सञ्चालनमा आउँछन्,’ उनले भने । 

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा भएपछि सञ्चालनमा आएका वित्तीय संस्थाहरूलाई न्यूनतम चुक्ता पुँजीमा केही छुट दिने संकेत दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ती संस्थाहरूको चुक्ता पुँजी सम्बन्धमा छुट्टै नीतिगत व्यवस्था गर्ने राष्ट्र बैंकले बताएको छ । ‘यो बैंकले समस्याग्रस्त घोषणा गरी रिजोलुसन प्रक्रिया सम्पन्न भएपश्चात् सञ्चालनमा आएका बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धिका सम्बन्धमा छुट्टै नीतिगत व्यवस्था गर्नेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख छ ।

गत असारसम्म समस्याग्रस्त ११ वटा संस्थाको निक्षेप ३ अर्ब ३ करोड ७४ लाख र कर्जा ६ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ । यी संस्थाहरू समस्याग्रस्त हुँदाका बखत कुल निक्षेप ११ अर्ब १९ करोड ८९ लाख र कर्जा १४ अर्ब ४ करोड २३ लाख रुपैयाँ थियो । कान्तिपुर दैनिकमा प्रकाशित समाचार